बिहीबार, वैशाख १३, २०८१

प्रभु लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७७ असोज २९ गते १५:५१

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज बिहिबार काठमाडौैंस्थित म्यारियट होटल, नक्सालमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीको संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।  कम्पनीको अधिकृत तथा जारी पूँजी रु २ अर्ब र चुक्ता पूँजी रु १ अर्ब ४० करोड रहेको जनाएको छ । संस्थापकहरुको ७० प्रतिशत लगानी रहेको यस कम्पनीमा जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधरण शेयरधनीहरुको लागि छुट्याएको अध्यक्ष घिमिरेले जानकारी दिए । निकट भविष्यमा सर्वसाधरणका लागि शेयर निष्कासन गरिने भएपछि चुक्ता पूँजी २ अर्ब हुने घिमिरेले जानकारी दिए । सर्वसाधरणलाई छुट्याएको ३० प्रतिशत शेयर छिट्टै जारी गरे पश्चात लगानीकर्ताहरुलाई यथासक्य प्रतिफल दिने उनले बताए । हाल करिव २२ प्रतिशत जनताको मात्र बीमामा पहूँच पुगेको स्थितिलाई दृष्टिगत गर्दा बीमा व्यवसाय अभिवृद्धिका लागि आशावादी रहेको छौँ, उनले भने ।

बीमा समिति र नेपाल लेखामानको निर्देशन बमोजिम आर्थिक वर्ष २०७४/ ७५ देखि नै वित्तिय विवरण नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्स बमोजिम तयार पार्नुपर्ने निर्देशनानुसार गरेको सञ्चालक सुभाष अमात्यले बताए । उनले कारोबारको समिक्षा गर्दै उक्त कम्पनीले आफ्नो व्यवसायिक कारोवार मिति २०७४ मंसिर २८ गते देखि विधिवत रुपमा शुभारम्भ गरी आर्थिक वर्ष २०७४/ ७५ को करिब ७ महिनाको समयअवधिमा रु ११ करोड ४४ लाख , २०७५/७६ मा रु ४७ करोड ३८ लाख र २०७६/७७ मा १ अर्ब १९ करोड ७८ लाख कुल बीमा शुल्क संकलन गरेको जानकारी दिएका छन् । समिक्षा वर्ष २०७५र७६ कम्पनीको दोस्रो संचालन वर्ष रहेको र विभिन्न वित्तिय सूचाङहरु यसैसाथ संलग्न वित्तिय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कम्पनीमा सूचना प्रविधिको पहुँच बृद्धि गर्दै जाने नीति अनुरुप बीमा सम्बन्धी कारोबारलाई कम्प्यूटर सफ्टवेयर मार्फत गर्ने उनले जानकारी दिएका छन् । साथै जीवन बीमाको क्षेत्रमा आफ्नो विशेष पहिचान कायम राखी मुलुकको आर्थिक उन्नतीमा कम्पनीको तर्फबाट योगदान दिदैँ भविष्यमा जीवन बीमाका नवीनतम योजनाहरु ल्याई जीवन बीमाको पहूँच मुलुकभर पुर्याउने योजना  कम्पनीको रहेको छ ।

 

 

 

प्रतिक्रिया