शुक्रबार, वैशाख १४, २०८१

पहिलो त्रैमासको अन्तिम कारोबार दिन १.२९ अंकले बढ्यो शेयर बजार, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

नेपालखोज २०७७ असोज २९ गते १६:१०

काठमाडौं । मंगलबारदेखि घटेको शेयर बजार बिहीबार भने सामान्य अंकले बढेर बन्द भएको छ । यो दिन बजार १ दशमलव २९ अंक बढेर १ हजार ५६२ दशमलव ४६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन बुधबारको तुलनामा नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमि आएको छ । बुधबार बजार ७ दशमलव ४२ अंक घटेर १ हजार ५६१ दशमलव १७ विन्दुमा बन्द भएको थियो ।

बुधबार १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बिहीबार भने १ अर्ब ४२ करोड ५८ लाख ९० हजार रूपैयाँमा कारोबार रकम सिमित भएको छ । बिहीबार सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो दिन नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ४० लाख ८४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

बिहीबार बैंकिङ समूहको शून्य दशमलव १५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५४ प्रतिशत, अन्यको शून्य दशमलव ६५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको छ । यो दिन होटलको शून्य दशमलव ९१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५४ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ९७ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव १८ प्रतिशत परिसूचक घटेको छ ।

यो दिन नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । नेपाल फाइनान्सको ९ दशमलव ८७ प्रतिशत र जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८५ प्रतिशत बढेको हो । यो दिन नेपाल फाइनान्सको प्रतिकित्ता ३० रूपैयाँले बृद्धि भई अन्तिम मूल्य ३३४ रूपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ३३ रूपैयाँले बृद्धि भई ३६८ रूपैयाँ कायम भएको छ । बिहीबारकोे बजारमा गुराँस लघुवित्त वित्तीय संस्था र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । गुराँस लघुवित्तको प्रतिकित्ता ३७ ले घटेर अन्तिम मूल्य ६७३ रूपैयाँ र आँखुखोला लघुवित्तको प्रतिकित्ता ६ रूपैयाँले घटेर अन्तिम मूल्य ११२ रूपैयाँमा झरेको छ ।

बिहीबार बजार बढ्नुमा नयाँ अर्थमन्त्रिको आगमनलाई पनि कतिपयले औल्याएका छन् । बिहीबार देखि अर्थमन्त्रिको जिम्वेवारी विष्णु पौडेलले ग्रहण गरेका छन् । शेयर लगानीकर्ताहरुले अर्थमन्त्रि पौडेललाई शेयर बजारका लागि फाप्ने अर्थमन्त्रिका रुपमा पनि हेरेका छन् । यस अघि पौडेल अर्थमन्त्रि हुदाँनै नेपालको शेयर बजारले १ हजार ८८१ को ऐतिहासिक विन्दु कायम गरेको थियो । अर्थमन्त्रि पौडेलको पुनः आगमनले पूँजीबजारको थप विकास र विस्तार हुने लगानीकर्ताहरुको अपेक्षा छ ।

प्रतिक्रिया