मंगलबार, वैशाख ३०, २०८२

नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरि काम गर्न प्रधानमन्त्रीको आग्रह

नेपालखोज २०७७ असोज २९ गते २०:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्। बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ तथा पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन्।

बुधबार प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि बिहिबार पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो। बैठकमा प्रधानमन्त्रीले प्रभावकारी हिसाबले देखिने गरेर काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक विवादका बारेमा पनि बिफ्रिङ गरेका प्रधानमन्त्री ओलीले बाहिरी राजनीतिक विवादबाट मन्त्रिपरिषद् मुक्त रहेको प्रष्ट्याएका थिए। ओलीले एकलौटी रुपमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका वरिष्ठ नेताहरुले असन्तुष्टि व्यक्त गरेका बेला उनले मन्त्रीहरुलाई यसबारेमा प्रष्ट पारेका हुन्।

ओलीले बुधबार रिक्त रहेका तीनवटा मन्त्रालयमा मन्त्री हेरफेर गरेका थिए। नेकपाका महासचिव विष्णु पौडेललाई अर्थ मन्त्री, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तोकेका थिए।

प्रतिक्रिया