बिहीबार, वैशाख १३, २०८१

बैंकको खाताबाटै पैसा गायब भएपछि एनआईसी एशियामा खाता बन्द गर्नेको भीड

नेपालखोज २०७७ कार्तिक ३ गते १६:०४

काठमाडौं । नेपालको नं. १ बैंक दावी गर्ने बैंकबाटै पैसा हराउन थालेपछि कुन बैंकको कति विश्वास गर्ने भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजतप्राप्त संस्था एनआईसी एसिया बैकले पनि पछिल्लो समय विश्वास गुमाउन थालेको हो । बैंकले ग्राहकको खाताबाट पैसा निकालेर मिटर ब्याजमा लगाउने तथा ग्राहकको खाताबाट विभिन्न शिर्षकमा पैसा काट्ने गरेका धेरै उजुरी राष्ट्र बैंकमा आउन थालेको बताइएको छ ।

बैंकले ग्राहकको खातामा भएको रकम आफैं झिक्छ भन्नु अपत्यारिलो कुरा त हो । तर केही अगाडि एनआईसी एशिया बैंकमा भएको ग्राहकहरुका खाताबाट रकम हराएका समाचारहरु आएपछि यस्तो कुरा बाहिरिएको हो । बैंक खाताबाटै ग्राहकलाई थाहै नदिएर बैंक आफैले रकम निकालेको खबर सार्वजनिक भएपछि खोजि गर्दै जाँदा रकम बैंक आफैले निकालेको भेटिएको थियो । बजारमा बैंकबाट पैसा हराएको हल्ला फैलिनासाथ एनआईसी एशिया बैंकका हजारौं ग्राहकहरु आफ्नो खाता बन्द गर्न बैंकमा गइरहेका छन् ।

पछिल्लो समयमा एनआईसी एशिया बैंकमा पैसा निकाल्ने तथा खाता बन्द गर्ने ग्राहकको घुइचो लाग्ने गरेको छ । अहिलेसम्म देशभरका विभिन्न शाखाबाट १३ हजार भन्दा बढीले खाता बन्द गरिसकेको बताइएको छ । बैंकमा उजुरी गर्नु तथा उनीहरुसँगको वादविवादमा अल्झिनुभन्दा खाता बन्द गर्नु नै सजिलो भएको ग्राहकहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकमा एनआईसी एशिया बैंकको विरुद्धमा करिब ३ सय भन्दा बढी उजुरी परेको बताइएको छ । केन्द्रीय बैंकले पटक–पटक कारबाही गर्दा पनि एनआईसी एशिया बैंकले किन अटेर गरिरहेको हो नबुझेको राष्ट्र बैंकका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया