बिहीबार, वैशाख १३, २०८१

राज्यको अकर्मण्यताका कारण नागरिकले भोग्नुपरेको पीडा

विजया स्वार २०७७ कार्तिक ४ गते ६:२०

नेपालको संविधानले नेपालका प्रत्येक नागरिकलाई ‘सम्मानपूर्वक बाँच्न पाउने हक हुने’ कुराको सुनिश्चित गरेको छ (भाग ३, धारा १६) । त्यस्तै, संविधानको धारा १८ को उपधारा १ मा ‘सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख गरिएको छ । संविधानमा उल्लेखित यी बुँदाहरुले प्रत्येक नेपाली नागरिकले सम्मानपूर्वक बाँच्न पाउने र नागरिकको उक्त हकलाई राज्यले संरक्षण गर्नेछ भन्ने जनाउँछ । तर, राज्यले सुनिश्चित गरेको उक्त हक पाउने नागरिकको अधिकार कुण्ठित भएका सयौँ उदाहरण सुनिन्छन् । राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरुको अकर्मण्यताका कारण कोभिड–१९ ले गाँजेको वर्तमान अवस्थामा हज्जारौँ नागरिकहरु अनावश्यक पीडा भोग्न वाध्य छन् । कोरोनाको सकसबाट तर्सिएका हज्जारौँ नागरिकहरु मर्नैपरे पनि आफ्नो मुलुक र आफन्तहरुको समीपमा आउन चाहेका छन् । तर, तिनका चाहनाहरु कसरी पीडामा बदलिएका छन् भन्ने कथाको भुक्तभोगी यस पंक्तिकारको अनुभवलाई यस छोटो लेखमार्फत् प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

यस पंक्तिकारको टोली काम विशेषले सिंगापुर गएको लगभग १ महिनापछि कोरोना महाव्याधीको कारण स्वदेश फर्कनुपर्ने भयो । त्यतिबेला विश्वव्यापी रुपमा बन्दाबन्दी सुरु भइसकेको थियो । सोही क्रममा हामीहरु सङ्लग्न टोलीमा चीन, अस्ट्रेलिया, भारत र बंगलादेशका नागरिकहरु पनि थिए । आफ्नो नागरिकहरुलाई कोभिड–१९ को भयावह अवस्थाबाट सुरक्षित रुपमा स्वदेश फर्काउन विभिन्न देशले आ–आफ्नै तरिकाले पहल गरिरहेका थिए । हामी पनि सुरक्षित रुपमा नेपाल फर्कने आशामा थियौँ । सिंगापुरमा रहेका हामी केही नेपालीहरु स्वदेश फर्कने चाहनाका साथ मलेशीया तथा थाइल्याण्डस्थित नेपाली राजदूतावास र हवाइ यातायातको लागि तोकिएको ट्राभल एजेन्टसँग जुलाई २० तारिखदेखि निरन्तर सम्पर्कमा थियौँ । फर्कनका लागि हामीलाई आवश्यक फारम भर्न र हवाई टिकट खरिद गर्नका लागि भनिएको थियो । फर्कने योजना अनुसार हामीले टिकट काट्यौँ र उडान हुने अघिल्लो दिन ‘यात्राको लागि अनुमती पत्र’ (Fit to travel letter) देखाएपछि हामीलाई टिकट दिइनेछ भनिएको थियो । टिकट खरिद नगरुन्जेल ट्राभल एजेण्टबाट हामीसँग निरन्तर सम्पर्क भइरहेको थियो । तर, उडान हुनु एकदिन अगाडि अचानक ‘उडान रद्द भयो’ भनेर खबर आयो । यसरी उडान रद्द हुनेक्रम २ पटकसम्म चलिरह्यो । तर, उडान किन रद्द भएको हो, अब उडान कहिले हुन्छ भन्नेबारे केही भनिदैनथ्यो । हामीलाई आर्थिक समस्याका साथै त्रास पनि बढ्दै थियो ।

तेस्रोे पटक सेप्टेम्वर ७ का दिन नेपाल एयरलाईन्सबाट उड्नको लागि पुन टिकट खरिद गर्ने कुरा चलिरहेको थियो । टिकट खरिद गर्नुअघि सिंगापुर विमानस्थलमा कोभिड–१९ को चेकजाँचको अवस्था के छ भनी सोधपुछ गर्यौं । सिंगापुर विमानस्थलमा संक्रमितलाई मात्र पिसीआर जाँच गर्छ अन्य यात्रीको हकमा ‘यात्राको लागि अनुमती पत्र’ देखाएमा पुग्छ भन्ने खबर पाएपछि हामीले टिकट खरिद ग¥यौँ । हामीले ट्राभल एजेन्सी र नेपाल एयरलाइन्ससँग पटक–पटक सोधपुछ गर्दा पनि नेपाल र्फकनका लागि पिसीआर जाँच अनिवार्य छ भने भनेर भनेनन् ।

यसै बिचमा चीन र्फकने चिनियाँ नागरिकहरूका लागि चीनको लागि यात्रा गर्न पिसीआर जाँच अनिवार्य भन्ने भनिएको थियो । उनीहरुको लागि चीन सरकारले आवश्यक पत्राचार गरिदिएर सहज रुपमा पिसीआर जाँच गर्न सकिने अवस्था बनाइदियो । अब ढुक्कसँग उनीहरु आफ्नो देश फर्कन पाउने भए । त्यतिबेला उनीहरु आफ्नो देशको सरकारप्रति अत्यन्तै कृतज्ञ थिए । त्यो देखेर हामीले हाम्रो स्वास्थ्य मन्त्रालयमा यस विषयमा आवश्यक सहयोगको लागि पत्राचार ग¥यौँ, तर यसको सुनुवाई भएन । धेरै कोसिस गर्दा पनि सरकारी निकायबाट कुनै पनि सहयोग नभएपछि हामीले सिंगापुर स्वास्थ्य मन्त्रालयमा अनुरोधसहित निवेदन पठायौँ । सिंगापुरको मन्त्रालयले भने हामीलाई पिसीआर जाँच गर्न तुरुन्त स्वीकृति प्रदान गर्यो । अब भने पिसीआर जाँच गरी नेपाल फर्कन पाउने कुरामा विश्वस्त भयौँ । पिसीआर जाँच हुनेबारे हामीले नेपाल एयरलाइन्सलाई खबर गर्ने काम ग¥यौँ, तर नेपाल एयरलाइन्सले सिंगापुरबाट आएका यात्रुको हामी जिम्मा लिन सक्दैनौं भनेर हाम्रो टिकट रद्द गरी दियो । नेपाल जान पाइने सपना बोकेका हामीलाई नेपाल एयरलाइन्सको यस्तो अनुत्तरदायी कार्यले अत्यन्तै मर्महात तुल्यायो । हामीसँगै रहेका अन्य देशका सबैलाई सम्बन्धित देशका सरकारले ससम्मान फर्कायो र तर हामीलाई भने आफु ‘राज्यविहिन टुहुरा नागरिक’ भएको जस्तो महसुस भयो ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले एकपटक पिसीआर गर्ने स्वीकृति दिएको थियो । उनीहरुबाट त्यस्तो स्विकृति पटक–पटक पाइएला भन्ने निश्चित थिएन र हामीले हरेस खाइसकेका थियौँ । नेपाल एयरलाइन्ससँग चर्काचर्की परेपछि अन्ततः उसले सिंगापुरको अस्पतालमा पिसीआर जाँच गरेर बुझाउनु पर्ने रिपोर्टको ढाँचा तयार पारी हामीलाई उपलब्ध गरायो र सिंगापुरको अस्पतालसँग अनुरोध गरी सोहीअनुरुप पिसीआर जाँच गरी नेपालतर्फको यात्राको लागि सेप्टेम्बर १५ को लागि पुनः टिकट खरिद गर्यौं। तर, नेपाल एअरलाईन्सको अकर्मण्य व्यवस्थापनका कारण हाम्रो यात्रा सुनिश्चित हुन सकेन । त्यसपछि हामीले हिमालयन एयरलाईन्ससँग सम्पर्क गर्यौं र उनीहरुले हामीले पेश गरेको कागज पत्र हेरी ‘ठिक छ’ भन्ने प्रतिक्रिया आएपछि बल्ल यात्रा निश्चित भयो भन्ने लाग्यो ।

यात्रा तालिका अनुसार हिमालयन एअरलाईन्समार्फत् सिंगापुरबाट सेप्टेम्बर १४ राति ११ः०० बजे क्वालालाम्पुर हुँदै नेपाल पुग्ने निश्चित भएको थियो । तर, केही कारणवश उक्त तालिकाअनुसार यात्रा हुन सकेन र १५ सेप्टेम्बर विहान ९ः३० बजे ‘सिल्क एयर’बाट क्वालालाम्पुर उडान भरियो । मलेसियाको क्वालालाम्पुरमा १९ घण्टा बिताएपछि सेप्टेम्बर १६ को बिहानको ३ः०० बजे हामी उडान भर्ने गेटमा पुग्यौँ । त्यहाँ अरु नेपालीहरु पनि थिए । यात्राको लागि आवश्यक सम्पूर्ण कागजात एयरलाईन्सलाई बुझाएर बोर्डिङ पाससमेत प्राप्त भई सकेको थियो । तर, केही समयपश्चात् एयरलाईन्सका कर्मचारीले हाम्रो पिसीआर जाँचको रिपोर्ट हेरेर उक्त प्रतिवेदन नमिलेकोले यात्रा सम्भव नभएको र हामी यात्रीहरुलाई एयरलाइन्सको खर्चमा होटल क्वारेन्टिनमा पठाउन पनि नसकिने जानकारी दिए । त्यसपछि त हामी सबैको होसहवास उड्यो । एयरलाईन्सकै केही संवेदनशील कर्मचारीको पहलमा अन्ततः क्वालालम्पुरबाट हिमालयन एयरको उडानबाट काठमाडौंतर्फ लाग्यौँ । हामीले बुझ्न सकेनौँ कि किन ती कर्मचारीले पहिला हामीलाई दूव्र्यवहार गरे । अन्य कर्मचारीसँग कुराकानी गरेपछि यात्रा गर्न सम्भव भयो – यसको अर्थ यात्रा गर्न त मिल्ने रहेछ भने किन पहिलो कर्मचारीले हामीलाई मिल्दैन भनेर भने ? एअरलाइन्स त ‘सिस्टम’ अनुसार चल्नुपर्ने हो । जे भए तापनि हामीले यात्रा गर्न पायौँ र चार घन्टा दश मिनेटको उडानपश्चात् बिहान ८ः१० बजे हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यौं ।

विमानस्थलमा अवतरण गरेको करिब २० मिनेट जतिपछि हामी प्लेनबाट बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै विमानस्थल भवन भित्र छि¥यौँ । भित्र छिर्ने ठाउँमा स्यानिटाइजर मेसिन झुण्डिएको थियो तर त्यो काम गर्ने अवस्थामा थिएन । हामी सोझै यात्रु कुर्ने हलतर्फ लाग्यौँ र हलभित्र समेत स्यानिटाइजर राखेको देखिएन । हामी अगाडि बढ्ने क्रममा एकजना स्वास्थ्यकर्मीले तापक्रम नापेर पिसीआर कहिले गरेको भनेर सोधपुछ गरे र अगाडि जान निर्देशन दिए । हाम्रो पिसीआर रिपोर्ट र अन्य कागजात केही पनि हेरिएन । विमानस्थल बाहिरको अवस्था कोभिड–१९ सुरु हुनुअघिको सामान्य अवस्था झैँ थियो । कोरोनाबाट बच्नको लागि आवश्यक सावधानी अपनाइएको देखिएन । त्यहाँ केही सुरक्षाकर्मीहरु थिए । तिनले हामीलाई हामीलाई आइसोलेसन स्थल लगिने जानकारी दिए । कुन ठाउँमा लैजाने र कति दिन राख्नेबारे हामीलाई केही भनिएन । धेरैपटक सोध्यौँ तर, कसैले केही जवाफ दिएनन् । अन्ततः बालकुमारीस्थित मण्डला पार्टी प्यालेस लगियो र त्यहाँ हामीलाई ४ घण्टा राखियो । त्यतिञ्जेल हामीलाई कसैले केही सोध्न, भन्न आएनन् । लगभग ४ घण्टा रोकेपछि हामीलाई घर पठाइयो । बाहिर ट्याक्सी चालकहरु बिनामास्क निस्फिक्री घुमिरहेका थिए र यात्रुहरु आउने बित्तिकै ट्याक्सीको भाडा मोलतोल गर्न तँछाड्–मछाड् गरिरहेका थिए ।

नेपाल भित्रिनका लागि पिसीआर जाँचको लागि सिंगापुरमा पाएको दुःख देख्दा हाम्रो विमानस्थलमा कोरोनाका सम्बन्धमा अत्यन्तै कडा सावधानी अपनाएको हुनुपर्छ भन्ने सोँचेका थियौँ । तर, यहाँको अवस्था उल्टो थियो । यहाँको अवस्थाले धेरै अचम्मीत बनायो हामी सबैलाई । यहाँ यस्तो लथालिङ्गे सुरक्षा व्यवस्था छ भने हामीलाई सिंगापुरमा पटक–पटक टिकट रद्द गर्नुपर्ने गरी किन दुःख दिइयो ! हामीले भोग्नु परेको मानसिक तनाव, आर्थिक समस्या र समयको वर्वादीबारे कसले जवाफ दिने ? त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि हामीलाई किन आइसोलेसन स्थलमा लगियो र किन बिनाकारवाही ४ घण्टापछि तेत्तिकै घर पठाइयो ? केही पनि बुझिएन । यस पंक्तिकारले नेपाल सरकारको कृषि विकास बैङ्कमा ३० वर्ष सेवा प्रदान गरी अवकास पाएको हो । शिक्षित, सूचनामा पहुँच भएको र आफ्नो बिचार राख्न सक्ने हामीजस्तो नागरिकले त यति दुःख पाउने स्थिति छ भने असाक्षर, जानकारी कम भएको, बोल्न नसक्ने नागरिकहरुले कति पीडा भोगेका होलान् ! सम्झँदा पनि कहाली लागेर आउँछ । हाम्रो देशको यस्तो अवस्थाले नेपाली नागरिकलाई संविधानप्रदत्त ‘सम्मानपूर्वक बाँच्न पाउने’ र ‘संरक्षित हुन पाउने’ हकको रक्षा गर्नु त परको कुरा, उल्टो त्यसको धज्जी उडाएको छ । यसबारे सोधखोज गर्ने र नागरिकलाई न्याय दिने निकाय कुन होला, खोजीको विषय बनेको छ ।

प्रतिक्रिया