शनिबार, वैशाख ८, २०८१

वाग्मती शुद्धीकरण अभियानमा २०० युवा परिचालन गरिँदै

नेपालखोज २०७७ कार्तिक ४ गते २०:५३

काठमाडाैं । नागरिकस्तरबाट सात वर्ष अघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा जागरण फैल्याउन युवावर्ग पनि लागि पर्ने भएका छन् । एसियाली विकास बैङ्क अन्तर्गत एसियाका लागि युवाले वाग्मती युवा कार्यक्रममा जनचेतना अभिवृद्धि गर्न २०० युवालाई तालिम शुरु गरेको छ ।

वाग्मती नदीले छोएका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका एवं काठमाडौँ र ललितपुर महानगरपालिकाका १२ वटा वडाका युवाको तालिममा सहभागिता रहेको राष्ट्रिय युवा साझेदारी संयोजक नीरजबाबु भट्टले राससलाई जानकारी दिए । तालिममा वाग्मती नदीले छोएका गोकर्णेश्वरको वडा नं.–७, कागेश्वरी मनोहराको वडा नं.–८, काठमाडौँ महानगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२, ३१ र ३२, ललितपुर महानगरपालिकाका वडा नं. १, २ र १० वडाको सिफारिसमा युवालाई तालिममा सहभागी गराइएको छ । अनलाइनका माध्यमबाट तीन हप्ताअघिदेखि जारी तालिम अर्को तीन हप्तामा सकिने छ ।

वाग्मतीका सहायक नदी क्षेत्रमा बसोवास गर्ने युवालाई पनि तालिममा सहभागी गराइएको उनले बताए । तालिमका सहभागीबाट प्रस्तुत हुने वाग्मती शुद्धीकरण अभियानमा सहयोग पुग्ने १० योजनालाई कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग समेत गरिने जनाइएको छ । उत्कृष्ट १० समूहलाई ३०० अमेरिकी डलरका दरले सहयोग गरिने छ ।

बाँकी योजनालाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत सरोकार भएका निकायका माध्यमबाट सहयोग जुटाउन प्रोत्साहन गरिने छ । तालिमका क्रममा सहभागी युवालाई दिगो विकास लक्ष्य, नदी र फोहर मैला व्यवस्थापनका लागि प्रशिक्षण दिइएको छ । वाग्मती एवं यसका सहायक नदी क्षेत्रको समुदायस्तरमा प्रशिक्षण, वृक्षरोपण, बगैँचा निर्माण गरी नदी सभ्यताको शुद्धीकरणमा सहयोग जुटाउन युवा परिचालन गरिने जनाइएको छ ।

नदी सभ्यताको संरक्षणमा युवा परिचालन कार्यक्रमले विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानलाई पनि सहयोग पुग्ने विश्वास गरिएको छ । हाल प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ अभियान जारी छ ।

प्रतिक्रिया