बिहीबार, चैत १५, २०८०

सरकारले जनताको उपचार नगरी पार्टीनिकटलाई अर्बौं बाँडेको कांग्रेसको आरोप

नेपालखोज २०७७ कार्तिक ६ गते १५:५६

काठमाडौं । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले देशमा कोरोनाका संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थामा सरकार भने कर्तव्यबाट पन्छिन थालेको आरोप लगाएको छ ।

बिहीबार नेपाली कांग्रेसका सह–महामन्त्री तथा नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले प्रेस विज्ञप्ती जारी गर्दै उक्त आरोप लगाएका हुन् । उनले जारी गरेको विज्ञप्तीमा २८.५ प्रतिशत नेपालीलाई कोरोना संक्रमण भइसकेको तथा त्यसमध्ये ५४ प्रतिशत काठमाडौं उपत्यकाकै रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा अगाडि भनिएको छ, नेपालको संक्रमण दर अन्य देशहरुको १० प्रतिशतको तुलनामा अत्यन्त उच्च देखिएको छ । यो आकंडाले नेपालमा स्थिति भयावह हुँदै गएको संकेत गर्दछ । तर सरकार देशमा कोरोना संक्रमण रोक्न सफल भएको दावी गर्दैछ । यो भन्दा विरोधाभास र सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको अर्को नमूना हुन सक्दैन ।

संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा नेपाली कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका बावजुद सरकार कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिँदैछ । त्यसमाथि सरकारी अस्पतालहरुमा समेत उपचार गराउँदा पहिले नै निश्चित रकम दाखिला गर्नुपर्ने सूचना जारी गर्दैछन् । यसले गर्दा खर्च जुटाउन नसकेर कतिपय बिरामीहरु अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुँदैछन् भने कतिपय संक्रमणले गम्भीर हुँदा घरमै बस्नुपर्ने वाध्यता भएको छ ।

सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैर सरकारी संस्थाहरुलाई अरबौं रकम दिनसक्ने विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड–१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा बजेट दुरुपयोग र भ्रष्टाचार गर्न बजेट पर्याप्त हुने तर आम नागरिकहरुले परीक्षण र उपचार खर्च नपाएर मृत्युवरण गर्नुपर्ने र वेरोजगारीका कारण चाडवाडको बेलामा पनि भोकभोकै बस्नुपर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिँदै गरेको आरोप लगाइएको छ ।

सरकार कर्तव्यच्यूत भएको भन्दै यस्तो जनविरोधी क्रियाकलापको नेपाली कांग्रेसले घोर निन्दा गरेको छ । सरकारसँग कोरोना परीक्षण र उपचारमा सरकारले तत्काल पूर्ण जिम्मेवारी लिन, कोरोना संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आम नागरिकहरुका लागि राहतको व्यवस्था गर्न नेपाली कांग्रेसले माग गरेको छ । साथै, कोरोना रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आम नागरिकको तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको जनाइएको छ ।

मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र सावुन पानीले नियमित हात धुने उपायहरुलाई गम्भीरताका साथ लिन आग्रह गर्दै कांग्रेसले कोरोना संक्रमणको विशिष्ठ परिस्थितिमा बडा दशंैको चाडलाई आ–आफ्ना घरमा मात्र मनाएर संक्रमणको जोखिमलाई कम गर्न समेत सम्पूर्णमा आग्रह पनि गरेको छ ।

प्रतिक्रिया