बिहीबार, वैशाख ६, २०८१

देशभर ४८ हजार बढी प्रहरी परिचालन

नेपालखोज २०७७ कार्तिक ७ गते ६:१७

काठमाडौं । दसैंमा नागरिकको सुरक्षाका लागि देशभर ४८ हजार ८ सय प्रहरी परिचालन गरिने भएको छ । प्रहरीले दसैंलगायतका चाडलाई लक्षित गरी सुरक्षा योजना लागु गरेको हो ।

दसैंसहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए । डीआईजी पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान पनि आग्रह गरेका छन् । डीआईजी पोखरेलले घर छाड्दा सोबारेको सूचना अथवा फोटो सामाजिक सञ्जालमा नराख्नसमेत सबैलाई आग्रह गरेका छन् ।

त्यस्तै, नजिकका वा विश्वासिलो छिमेकीलाई हेरचाहका लागि आग्रह गर्न पनि आग्रह गरेका छन् ।
प्रहरीले सुरक्षा जोखिम मानिएका क्षेत्रमा कुकुर र ड्रोनकोसमेत प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ । यसबाहेक हरेक क्षेत्रमा आपतकालीन फोर्ससमेत रहने छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक प्रदेशमा डीआईजी र जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड फोर्ससमेत राखिएको बताएका छन् । सो फोर्सले आपतकालीन अवस्थामा प्रहरी परिचालनको अधिकार राखेको हुन्छ ।

प्रहरीले उपत्यकालाई एक प्रदेश मानेर अन्य सात वटा प्रदेशका लागि खटिने जनशक्ति, संयुक्त चेकिङ र यात्रु सहायता कक्षसमेत राखेको छ । उपत्यकामा मात्रै ७ हजार ५ सय ५० जना प्रहरी परिचालन गरिएको छ । यस्तै सादा पोसाक, मोबाइल गस्ती, मोटरसाइकल गस्तीसमेत बढइएको छ । उपत्यकामा ५४ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ हुनेछ । यस्तै २९ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।

प्रदेश १ मा ७ हजार ९ सय २२ जना प्रहरी खटाइएको छ । प्रदेश २ मा ७ हजार ३ सय १० जना, बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बाहेक ४ हजार १ सय ५३ जना प्रहरी खटाइएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा ५ हजार ३ सय ३ जना, लुम्बिनी प्रदेशमा ७ हजार ८ सय २५ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय १७ जना र सुदूरपश्चिममा ५ हजार ५० प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया