मंगलबार, वैशाख ११, २०८१

कोरोना महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो कर्तव्य : प्रम ओली

नेपालखोज २०७७ कार्तिक ७ गते १९:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र अहिले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र कर्तव्य भएको बताएका छन् ।

बडादशैँका अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्योपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट विमुख हुन नसक्ने र नभएको स्पष्ट पारेका छन् ।

कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न उनले आग्रह गरेका छन् । प्रधानमन्त्रीले जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाका लागि सरकारले घोषणा गरेका नियमको कडाइका साथ पालना गर्न पनि सबैमा आग्रह गरे ।

प्रधानमन्त्री ओलीले बडादशैंँका मुखमा महामारीको सङ्क्रमण अहिलेसम्मकै उच्च देखिएको र अहिले राजधानी काठमाडौंँ उपत्यका सङ्क्रमणको केन्द्रजस्तै बन्न पुगेको उल्लेख गर्दै सङ्क्रमणको वेग थामिन केही समय लाग्न सक्ने भएकाले यसलाई रोक्न, नियन्त्रण गर्न र सङ्क्रमितको उपचार गर्न सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको जानकारी दिए ।

दशैँमा फजुल खर्च र भीडभाड नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् ।”

प्रतिक्रिया