शुक्रबार, वैशाख १४, २०८१

ओली प्रचण्ड विवाद : कर्णालीका नेतालाई छुट्टाछुट्टै निर्देशन

नेपालखोज २०७७ कार्तिक ८ गते ७:३१

काठमाडौं । नेकपा कर्णाली प्रदेशमा जारी विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले कर्णाली प्रदेश सभा नेकपा संसदीय दलका प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाहलाई पुनः सोही पदमा कायम गर्न निर्देशन दिएका थिए । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको निर्देशन पत्रमा अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका शाहलाई प्रमुख सचेतकको जिम्मेवारीमा फर्काउन निर्देशन दिएका थिए ।

नेकपाका कार्यकारी अध्यक्ष दाहालले भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरेका छन् ।
उनले कर्णाली प्रदेश पार्टी कमिटीका सहइन्चार्ज तथा शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने यमलाल कँडेल, अर्का सहइन्चार्जहरु प्रकाश ज्वाला र कालीबहादुर मल्ल, पार्टी प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई निर्देशन दिएका हुन् ।
नेकपा कर्णाली प्रदेशको विवादले अध्यक्षद्वयबीच असमझदारी बढिरहेको बेलामा दुवैका फरक(फरक विज्ञप्ति आएका हुन् । यसअघि दुवैले सचिवालयमार्फत पनि यस्तै विज्ञप्ति जारी गरेका थिए । यसैबीच नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले मुख्यमन्त्री तथा दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया