शुक्रबार, वैशाख १४, २०८१

चार सय भन्दा बढी पत्रकारलाई कोरोना संक्रमण

नेपालखोज २०७७ कार्तिक १६ गते १४:३४

काठमाडौं । पछिल्लो समय ४ सयभन्दा बढी पत्रकारलाई कोरोना भाईरस (कोभिड १९) को संक्रमण भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ । महासंघले आईतबार विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । सो क्रममा कोभिड १९ कै कारण नेपालमा मात्र ४ जना पत्रकारको निधन भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको र संक्रमणको दर वृद्धि भएसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको महासंघले विज्ञप्ती मार्फत जानाकारी दिएको छ ।

उच्च जोखिमका बीच कोरोना संक्रमणको विषयमा नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाई एकातिर कोरोनाको कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेको छ । अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारहरुमा कोरोना संक्रमण बढिरहेको छ ।

दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा कोरोना संक्रिमत भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ, महासंघले बिज्ञप्तीमा जनाएको छ । यो विषम परिस्थितिमा मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न समेत महासंघले सरकारसँग माग गरेको छ ।

महासंघले महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पनि आम पत्रकार तथा सञ्चारकर्मीहरुमा गरेको छ ।

प्रतिक्रिया