शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय सहकारी बैंकको साधारणसभा भर्चुअल हुने

नेपालखोज २०७७ कार्तिक १६ गते १७:०५

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ । बैंकको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द्रीय उपसमितिको शुक्रबार सम्पन्न संयुक्त बैठकले वार्षिक साधारणसभा पहिलो पटक भुर्चअल माध्यमबाट प्रदेशगत रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो । सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका– २०७६ अनुसार साधारणसभाको मिति र कार्यसूची तय गर्ने निर्णयमा उपसमिति समेत आमन्त्रण गर्नु पर्ने प्रावधान अनुसार बैंकको केन्द्रीय उप–समितिका सदस्यहरुलाई आमन्त्रण गरिएको उप्रेतीले बताए ।

कोरोना (कोभिड–१९) संकटका कारण भौतिक उपस्थितिमा साधारणसभा गर्न संभव नभएको र नियामक निकायले समेत यो वर्षको साधारणसभा विद्युतीय माध्यम मार्फत गर्न सकिने निर्देशन जारी गरेकोले प्रविधिको प्रयोग गरी सम्पन्न गर्ने निर्णय गरिएको अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए । बैठकले आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म एकाई साधारणसभा र पुस ३ गते मुख्य साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैंकको १७ औं वार्षिक साधारणसभा अन्तरगत प्रदेश नं. १ को एकाई सभा मंसिर २३ गते, प्रदेश नं. २ को मंसिर २४ गते, बागमती प्रदेशको मसिर २५ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते, सुदुरपश्चिम प्रदेशको २८ गते र गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष उप्रेतीले जानकारी दिए । एकाई सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको छ ।

सहकारी ऐन, नियमावली र सहकारी विभागले जारी गरेरको साधारणसभा सञ्चालन सम्बन्धी निर्देशिका एवम बैंकको स्वीकृत विनियमावलीका आधारमा एकाइ साधारणसभा गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । साधारणसभामा १२ हजार २ सय ८३ सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।

सदस्यहरुले प्रस्ताव पेश गर्न सक्ने, नियमकीय निर्देशन जानकारी गराउनु पर्ने, संस्थागत प्रतिनिधिको जानकारी सदस्यलाई दिनु पर्ने र विविध शिर्षक राख्न नहुने जस्ता कार्यविधिका मापदण्ड पालना गर्दै यो वर्षको साधारणसभा गर्न लागिएको गुरागाईले जानकारी दिए ।

कोभिडको कारण केही समस्या भएपनि साधारणसभाको प्रतिवेदन बैंकको वेवसाइटमा हेर्न र डाउनलोड गर्न सकिने साथै तिहार अगाडि नै सदस्यमाझ वितरण गर्ने प्रवन्ध मिलाउन व्यवस्थापनले काम गरिरहेको समेत प्रमुख प्रशासकीय अधिकृत गुरागाईले बताए ।

प्रतिक्रिया