शुक्रबार, वैशाख १४, २०८१

भरतपुर महानगरको आइसोलेशनमा रहेका संक्रमितकाे पिसिआर परीक्षण निःशुल्क

नेपालखोज २०७७ कार्तिक १७ गते १७:१०

भरतपुर । भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ ।

महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ ।

महानगरप्रमुख रेनु दाहालले आइसोलेशमा रहेकाको पिसिआर परीक्षण पनि महानगर आफैँले गर्ने निर्णय गरेको जानकारी दिएकी छिन् । सरकारले गरिब, असहाय, कोरोना नियन्त्रणमा अग्र मोर्चामा रहेर काम गर्नेबाहेकको पिसिआर परीक्षण गर्न छोडेको छ । अन्यले आफ्नै खर्चमा पिसिआर गर्नुपर्ने हुन्छ । प्रमुख दाहालले भनिन्, “हामीले आइसोलेशनमा बस्नेलाई आर्थिकरुपमा कुनै भार नहुने गरी परीक्षणसमेत निःशुल्क गर्ने भएका छौँ ।”

महानगरको आइसोलेशन नेपालकै नमूना भएको भन्दै उनले प्राकृतिक चिकित्सा पद्धतिबाट सङ्क्रमितको उपचार भइरहेको जानकारी दिइन् । स्थानीय तहले पहिलो पटक कोरोना नियन्त्रणका लागि भरतपुर महानगरले कोरोना अस्पतालसमेत स्थापना गरी सरकारी अस्पताललाई हस्तान्तरण गरेको भन्दै उनले कोरोना नियन्त्रणमा महानगरवासीको कुनै गुनासो नहुने गरी काम गरिरहेको दाबी गरिन् ।

बागेश्वरी आइसोलेशनमा हालसम्म ३०९ जना भर्ना भएका छन् । जसमध्ये २४२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ६६ जना उपचाररत छन् । त्यहाँका चिकित्सक, कर्मचारी, ठाउँको व्यवस्थापन, औषधि, दैनिक खानाको व्यवस्थालगायतका सबै खर्च महानगरले बेहोरेको प्रमुख दाहालको भनाइ छ ।

प्रतिक्रिया