शुक्रबार, वैशाख ७, २०८१

कोरोना नियन्त्रण र उपचारमा टोखा नगरपालिकाको झन्डै ५ करोड खर्च

नेपालखोज २०७७ कार्तिक २३ गते १६:२४

काठमाडौँ । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु ४ करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो । नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि उक्त रकम खर्च गरेको जानकारी दिए ।

टोखाले विपन्न परिवारको राहतका लागि रु १ करोड ४१ लाख ११ हजार ३६५, जनप्रतिनिधि र कर्मचारीको कोभिड बीमाका लागि रु २ लाख ३५ हजार ६६०, कन्ट्याक ट्रेसिङका लागि रु ३५ हजार, स्वयम्सेवक, खाना तथा खाजा र अनुगमका लागि रु १७ लाख ९८ हजार ३७०, होम आइसोलेसन पोषण भत्ताका लागि रु २६ लाख ४० हजार ३०० खर्च गरेको छ ।

यस्तै, प्राविधिक/सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक रु ५ लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु ४ लाख २९ हजार ७८६, आइसोलेसन सामग्रीका लागि रु २६ लाख ८४ हजार ७१८, आइसोलेसन वार्डमा श्यया खर्च रु ९ लाख ६६ हजार ८०५, आइसोलेसन/क्वारेन्टिनमा खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२, जोखिम प्रोत्साहन भत्ताका लागि रु १ करोड ८० हजार ९७९ खर्च भएको छ ।

यसैगरी, ह्यान्ड वास स्टेशन निर्माणका लागि रु ७ लाख ३२ हजार ३२१, माक्स, क्लोरिन, स्यानिटाइजर, पिपिई, थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरिदका लागि रु ४ लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि रु २० लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि रु एक लाख ५० हजार खर्च भएको आर्थिक शाखाप्रमुख अधिकारीले बताए ।

कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि टोखा नगरपालिकासँग रु ५ करोड ८२ लाख ६ हजार ३५८ रकम रहेको छ जसमध्ये नगरपालिकाको कोषमा रु २ करोड ५० लाख, वाग्मती प्रदेश सरकारबाट प्राप्त रु १२ लाख, टोखाका शिक्षक कर्मचारीबाट सहयोग रु ९ लाख ३१ हजार ८९५, टोखाका सहकारी संस्थाबाट सहयोग रु १ लाख ६६ हजार २११ रहेको छ ।

यसैगरी, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट रु ३ करोड २४ लाख, विभिन्न सङ्घसंस्थाबाट सहयोग रु २ लाख ३० हजार, आधारभूत परीक्षा सञ्चालनको भत्ता र पारिश्रमिक अन्य कोषबाट हस्तान्तरण गरेको रु ३ लाख ८७ हजार रहेको नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकामा हाल ४१९ सक्रिय सङ्क्रमित रहेका छन् भने दुई हजारभन्दा बढी सङ्क्रमित निको भएर घर फर्किसकेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए। टोखाले हालसम्म ६ हजार ५५ जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया