बिहीबार, वैशाख १३, २०८१

एभरेष्ट बैंकको वित्तीय अवस्था खस्कियो

खुद मुनाफा घटेर ३३ करोडमा सिमित, प्रतिसेयर आम्दानी सात रुपैयाँमा झर्यो

नेपालखोज २०७७ कार्तिक २४ गते १२:३१

काठमाडौं । भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंकको वित्तीय अवस्था खस्किएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय बिवरण अनुसार गत आवको सोही अवधिको तुलनामा निक्षेप तथा कर्जा रकम सामान्यरुपमा बढेपनि खुद ब्याज आम्दानी, खुद मुनाफा, प्रतिसेयर आम्दानी लगायतका सुचकहरु घटेकै कारण बैंकको वित्तीय अबस्था खस्किएको हो ।

बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही बैकको यस्तो मुनाफा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ रहेको थियो । ८ अर्ब ५१ करोड २ लाख ७ हजार रुपैयाँ चुक्ता पुंजी रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब ५६ अर्ब ५४ करोड ९५ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोही आधारमा बैंकले एक अर्ब २ करोड ३२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ५४ करोड ५४ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब २१ करोड १७ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक अर्ब ४३ करोड २५ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी तथा नेटवर्थ पनि पछिल्लो अवधिमा घटेको छ । गत आवको पहिलो त्रैमासमा प्रति सेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा तथा प्रति सेयर नेटवर्थ २ सय २७ रुपैयाँ ३३ पैसा रहेकोमा चालु आवको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमश ७ रुपैयाँ ८ पैसा र २ सय २३ रुपैयाँ ३२ पैसामा झरेको छ । चालु आवको पहिलो त्रैमासमा शुन्य दसमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर ३ दसमलव ९४ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको बितरण योग्य नाफा भने जम्मा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ मात्र रहेको छ ।

गत आवको पहिलो त्रैमासमा भने बैंकमा शुन्य दसमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव २५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया