शुक्रबार, जेठ ४, २०८१

बैतडी र पर्वतको खानेपानी दुषित

नेपालखोज २०८० साउन १ गते १०:०८

पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ ।

जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी पिउने गरेको र यसले उनीहरूको स्वास्थ्यमा असर गरिरहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालय पर्वतले आज खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय माझ उक्त नतिजा सार्वजनिक गरेको हो ।

‘इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने खतरा बढेको छ । यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ’, उनले भने, ‘हिउँदको समयमा भन्दा वर्षातको समयमा इ.कोली बढी भेटिन्छ । वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ । एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ ।’

ल्याब टेक्निसियन दीपा केसीका अनुसार खाने पानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्च मात्रामा रहेको पाइएको छ । उनका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न पाँच वटा आयोजनाबाट २० वटा नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा आठ वटामा इ.कोली देखिएको छ भने बाँकी १२ वटा नमूनामा खान योग्य देखिएको छ ।

मोदीका नौ वटा आयोजनाको ३५ वटा नमूनामध्ये नौ वटामा इ.कोली भेटिएको छ भने बाँकी २६ वटा खान योग्य पाइएको छ । जलजला गाउँपालिकाका ७ वटा आयोजनाबाट २३ वटा नमुना सङ्कलन गरिएकोमा ७ वटा पानीको नमुनामा इ.कोली देखिएको छ भने बाँकी १६ वटा खान योग्य पाईएको छ ।

फलेवास नगरपालिका भित्रका विभिन्न १५ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका आठ वटामा इ.कोली देखिएको छ भने बाँकी ७ वटा खान योग्य पाईएको छ । यसैगरी विहादी गाउँपालिका भित्रका १८ वटा श्रोतको पानी परीक्षण गर्दा १० वटामा इ.कोली देखिएको छ भने बाँकी ८ वटा खान योग्य पाईएको छ ।

पैंयुँ गाउँपालिकामा पुगेर २७ वटा श्रोतको पानी परीक्षण गर्दा १५ वटामा इ.कोलीको मात्रा देखिएको छ भने बाँकी १२ वटा पिउन योग्य पाईएको केसीले बताए ।

महाशिला गाउँपालिकाका १७ वटा श्रोतको पानी परिक्षण गर्दा सात वटामा इ.कोली भेटिएको छ भने बाँकी १० वटा श्रोतको पानी पिउन योग्य रहेको भेटिएको छ झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने ल्याब टेक्निसियन केसीले बताए ।

‘इ.कोलीयुक्त पानी पिउँदा दिसाजन्य रोगहरूले महामारीको रूप लिन सक्ने पनि अवस्था आउँछ । यसबाट जोगिनको लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्छ’, उनले भने, ‘यो बर्खाको बेलामा कोलीफर्म मात्र नभई अरू कारणले पनि पानी दूषित बनेको हुन्छ । यो जमिनमा भएको फोहर बाढीले बगाउँदै पिउने पानीमा मिसाएको हुन्छ । जसमा धेरै प्रकारका सङ्क्रमणको जोखिम रहेको हुन्छ । त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउनुपर्छ ।’

बैतडीमा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ । स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो ।

यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले जेठ र असारमा गरेको नमूना सङ्कलन तथा परीक्षणमा आधाभन्दा बढी खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो । उनले भने, ‘खानेपानीका मुहानको पानी परीक्षणका क्रममा दिसामा भेटिने ‘कोलिफर्म’ कीटाणु मुहानको पानीमा भेटिएको छ, जुन पिउनयोग्य छैन ।’

जिल्लाका सबै स्थानीय तहका नागरिकले नियमितरूपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको हो ।

स्थानीय बासिन्दाले नियमित प्रयोग गर्दै आएका दुई सय ६९ पानीका मुहानबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा एक सय ३६ वटा मुहानको पानी पिउनयोग्य नरहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दशरथचन्द नगरपालिकामा ३४ वटा मुहानको नमूना सङ्कलन गरी परीक्षण गर्दा ११ वटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ ।

पुर्चाैडी नगरपालिकामा ३० मध्ये १२, पाटन नगरपालिकामा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो ।

यस्तै पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४, शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०, सुर्नया गाउँपालिकाका २४ मध्ये १७ दोगडाकेदार

गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ खानेपानीका मुहानबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा १२ वटा पानीका मुहानमा कोलिफर्म भेटिएको छ ।

कोलिफर्म भेटिनु भनेको पानीमा दिसा रहेको, प्रदूषित र पिउनयोग्य नरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए ।

‘कोलिफर्म भएको पानी पिउनाले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता विभिन्न सरुवा रोगको सङ्क्रमण बढ्ने सम्भावना हुन्छ’, उनले भने, ‘कोलिफर्म भएको पानीले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता रोग फैलाउँछ ।’ कोलिफर्म भेटिएको मुहानको पानी उमालेर, शुद्धीकरण तथा फिल्टर गरेर मात्रै पिउन आग्रह गरिएको छ ।

यसका साथै खानेपानीका मुहान वरिपरि सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहान मिसिन गई दूषित हुने गरेकाले नियमित सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया