बिहीबार, वैशाख १३, २०८१

म्याग्दीमा स्वास्थ्य चौकी भवन अलपत्र

नेपालखोज २०७७ कार्तिक २४ गते १६:०५

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित दुर्गम बस्ती मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अल्पत्र परेको छ । तीन वर्षदेखि निर्माण शुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित बनिरहेको छ । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको हो ।

भवन अलपत्र पर्दा मल्लकबाङ्वासीले पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता रहेको स्थानीय युवा अमर छन्त्यालले बताए । १८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित दुई तले १४ कोठे भवनमा बिरामीको उपचारका लागि श्यया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालीम हलका लागि छुट्टाछुट्टै कक्ष रहने गरी ठेक्का सम्झौता भएको थियो । भवनको एक तला ढलान भएपनि अन्य कुनै पनि काम नभएको छन्त्यालले जानकारी दिएका छन् ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट भवन निर्माण गर्न प्रतिस्पर्धामार्फत वोल्ड वाइड मालीका भगवती जेभीले तीन वर्षअघि एक करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पहिलो तला ढलान गरेपछि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर आएको छैन । मौखिक रुपमा पटकपटक ताकेता गरिएको भएपनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत जीर्ण र पुरानो हुँदै गएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए ।

निर्माण कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले कोरोना महामारीका कारण मजदूरहरु बाहिरबाट लैजान समस्या भएकाले निर्माण कार्यलाई अघि बढाउन समस्या भएको बताए । उनले हालै मात्र गाउँमा सडक सञ्जाल पुगेकाले निर्माण सामग्री ढुवानीको तयारी गरेको बताउँदै बाहिरबाट मजदूर लैजान सकिने अवस्था नरहेकाले स्थानीय मजदूरबाट नै योजनालाई अघि बढाउने तयारी गरिएको बताए ।

प्रतिक्रिया