सोमबार, वैशाख १७, २०८१

ब्रोकर एशोसियशनको नवनियुक्त पदाधिकारीद्वारा बोर्ड अध्यक्ष ढुंगानासँग भेटघाट

मार्जिन कारोबारलाई बिस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारकोरुपमा विकास गरिने

नेपालखोज २०७७ कार्तिक २५ गते ११:४०

काठमाडौं । स्टक ब्रोकर एशोसियशन अफ नेपाल (एसबान) का नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधि मण्डलले बोर्ड अध्यक्ष भिष्मराज ढुंगानासँग घेटघाट गरेका छन् । एसबानका अनुसार नवनियुुक्त अध्यक्ष सन्तोष मैनालीको नेतृत्वमा आईतबार उक्त भेटवार्ता भएको हो ।

भेटमा बोर्ड अध्यक्ष ढुंगानाले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उक्त भेटमा नवनियुक्त अध्यक्ष मैनालीले कोभिड–१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै यसबीचमा अनलाइनमार्फत् कारोबार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख बृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरण मार्फत् लगानीको थप अवसर प्रदान गरी बजार बिस्तार गर्ने चुनौती कायमै रहेको तथा धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै, भेटमा एसबानका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटा लगायत अन्य पदाधिकारीहरुले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउदै लैजान आवश्यक रहेकोले त्यसमा एशोसियशनले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायकोरुपमा बोर्डले दिने निर्देशनको अक्षरस पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेच्छा गरेको बताए ।

भेटका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजारको प्रतिष्ठा बढाउनुपर्ने र सोकालागि एशोसियशनले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउँदै टिएमएसलाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रशनको कार्य चाँडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्ने बताए ।

त्यसैगरी मार्जिन कारोवारलाई बिस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारकोरुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिशन सम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताए । उक्त भेटमा एशोसियशनका निवर्तमान अध्यक्ष भरत रानाभाटको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया