मैनादेवी फाउन्डेसन र कुमारी जबबिच काठमाडाैं ट्रयास कलेक्सन रेस २०२५ को लागि सहकार्य

नेपालखोज २०८१ पुष १७ गते १६:०२

काठमाडौं । वातावरणीय अभियानमा क्रियाशील नेपालकै अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउन्डेसन (एमडीएफ) र नेपालकै अग्रणी रोजगारी पोर्टल तथा मानव संसाधन परामर्शदाता कुमारी जब प्रा.ली.बिच काठमाडौं ट्रयास कलेक्सन रेस (केटीसीआर) २०२५ को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ ।

पुस २७ गते आयोजना हुने काठमाडाैं ट्रयास कलेक्सन रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान हो । तीनकुनेबाट सुरु हुने यस कार्यक्रममा सहभागीले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र ५ किलोमिटरसम्म फोहोर संकलन गर्नेछन् ।

यस अभियानले स्वास्थ्य, समूहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई एकसाथ जोड्दै हरियालीको महत्त्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

यस सहकार्यबारे कुमारी जब प्रा.ली.का प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘हामी केवल रोजगारीका अवसर मात्र सिर्जना गर्ने नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्दछ भन्ने मान्यता राख्छौँ । यसै मान्यता अनुरूप हामीले यस काठमाडौं ट्रयास कलेक्सन रेसको लागि मैनादेवी फाउन्डेसनसँग सहकार्य गरेका छौँ । हाम्रो यस सहकार्यले नागरिक सचेतना बढाउँदै भावी पुस्ताको लागि सुरक्षित वातावरण तयार गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’

त्यसैगरी मैनादेवी फाउण्डेशनका अध्यक्ष केपी खनालले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, ‘काठमाडौँ ट्रयास कलेक्सन रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ । कुमारी जबसँगको यो सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणको हाम्रो प्रयासलाई थप बलियो बनाएको छ । हाम्रो यस सहकार्यमार्फत मानिसलाई सकारात्मक परिवर्तन गर्न प्रेरित गर्दैछौँ ।’

यो वर्षको ट्रयास कलेक्सन रेसमा ३०० भन्दा बढी स्वयंसेवक परिचालन हुने भएका छन् भने ३,००० भन्दा बढी नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रवर्द्धन)मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जबले एक दशकदेखि जनमानसमा सेवा पुर्याउँदै आएको छ । यस सहकार्यमार्फत कुमारी जबले रोजगार निर्माणमा मात्रै नभई समाजमा वातावरणीय सचेतना फैलाउन पनि सक्रिय भूमिका निर्वाह गरेको छ । 

मैनादेवी फाउन्डेसनले विगत ३ वर्षदेखि यस अभियान सञ्चालन गर्दै आएको छ । तीनकुनेबाट बिहान ७ बजे सुरु भएर माइतीघर मा समापन हुने यस अभियानमा सहभागीले दौडँदै फोहोर संकलन गर्ने गरेका छन् । यसरी संकलन गरिएको फोहोर काठमाडौं महानगरकासँग सहकार्य गरेर व्यवस्थापन गर्ने गरिएको आयोजकले जानकारी दिएको छ । 

प्रतिक्रिया