मंगलबार, पुष १, २०८२

एसिड आक्रमणको मनोवैज्ञानिक असर र त्यसको न्यूनीकरणका उपायहरू

निगम कोइराला २०७७ कार्तिक २७ गते १९:५१

कुनै पनि मानिसको अनुहार वा शरीरमा अर्को व्यक्तिले अङ्ग कुरुप गराउने वा हत्या गर्ने उद्देश्यले एसिड फ्याँक्ने गरिन्छ भने त्यसलाई सरल भाषामा ‘एसिड आक्रमण’ भनेर बुझिन्छ । यसरी जानाजानी अरुको शरीरमा एसिड फ्याँकेर आक्रमण गर्नु जघन्य अपराध हो । एसिड आक्रमणका पीडितको तत्काल उद्दार गरी उसले सही उपचार पाउन सकिएमा एसिडले पुर्याएको शारीरिक क्षति कम गर्न सकिन्छ । तर, उसको शरीरमा हुने एसिड जलनको घाउको खत र उसमा पर्ने मानसिक तथा भावनात्मक क्षतिलाई न त पूर्ण रुपमा मापन नै गर्न सकिन्छ न त यसको उपचार नै सहज र सरल हुन्छ । यस्ता घट्नाले पीडितको भविश्य डामाडोल पार्नुका साथै उनीहरुको आशा र सपनाहरूलाई पूर्ण रूपमा नष्ट पार्दछ । यसले पीडितको पहिचान, आत्मसम्मान र विश्वासलाई ह्रास गराउँछ । यस लेखमार्फत् एसिड आक्रमणले पीडितमा कस्तो मनोवैज्ञानिक असर पार्दछ र त्यस्तो अवस्थामा पीडितमा पर्ने मनोवैज्ञानिक असरलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेबारे यस लेख लक्षित गरिएको छ ।

विश्वमा घट्ने अधिकांश एसिड आक्रमणका घट्ना महिलाहरु माथि हुने गरेको पाइन्छ । त्यसमाथि पनि एसिड आक्रमणका अधिकांश घटना दक्षिण एसियाली मुलुकहरुमा हुने गरेको देखिन्छ । यस्ता घट्ना अक्सर प्रेम वा यौन प्रस्तावलाई अस्वीकार गर्ने महिलाहरुविरूद्ध बदलाको रूपमा पुरुषले गर्ने गरेको पाइएको छ । यस किसिमका आक्रमण नियाल्दा समाजमा विद्यमान लैङ्गिक असमानता, पुरुष प्रधान सोँच, महिलाको सामाजिक, शैक्षिक तथा आर्थिक हैसियत कम हुनु आदि कारक तत्वको रुपमा देखिन्छन् ।

विश्वका हरेक राष्ट्रहरुले एसिड आक्रमणको प्रतिवेदन तयार गर्दै आएका छन् र त्यसमध्ये विकासशिल राष्ट्रहरु जस्तै: बंगलादेश, केम्बोडिया, पाकिस्तान, भारत, अफगानिस्थान आदि राष्ट्रहरुमा बढी संख्यामा एसिड हिंसा हुने गरेको पाइन्छ । एसिड आक्रमणको घटना नेपालमा खासै सुनिदैनथियो, तर केही वर्ष यता यो समस्या बढ्दै आइरहेको छ । प्रहरीको तथ्याङ्कअनुसार सन् २०१६ देखि २०२० को अक्टोबर महिनासम्ममा १८ जना महिला र ४ जना पुरुषहरु एसिड आक्रमणको सिकार बनेका छन् जसमध्ये अधिकांश पीडितहरु आर्थिक रुपमा न्यूनवर्गका छन् ।

लगभग डेढवर्ष अघि कालोपुल, काठमाडौं बस्ने जेनी खड्का (पीडितको स्विकृतिमा सही नाम उल्लेख गरिएको हो) आफ्नै श्रीमान्बाट एसिड आक्रमणमा पर्दा उनको गर्धन, छाती र हात पुरै प्रभावित हुनपुग्यो । हाल उनी २१ वर्षकी भइन् । चौध वर्षको हुँदै आफूभन्दा २० वर्ष जेठो पुरुषसँग बिहे हुन पुगेकी जेनीले आफ्नो बालापन पनि राम्ररी अनुभव गर्न पाएकी थिइनन् भने श्रीमान्बाट पनि माया र सदभाव पाउन सकिनन् । कलिलो उमेरमै उनले अपमान र दुःख मात्रै पाइनन् एसिडको पीडा पनि भोग्नु प¥यो । सानैमा बिहे हुनु, पढाई पुरा गर्न नपाउनु, घरबार समाल्नु पर्ने जिम्मेबारीले दिएको मानसिक तनाव त छँदै थियो त्यसमाथि एक्कासी सोच्दै नसोचेको पीडा भोग्नु पर्दा उनलाई सुरुमा आत्महत्या गर्ने साेंच पनि आएको थियो । एसिड आक्रमणको कारण शारीरिक पीडा त छँदै थियो त्यसमाथि आर्थिक अवस्था कमजोर भएकोले अस्पतालमा उपचारको खर्च जुटाउन नसक्दा मानसिक पीडा झनै थपिएको थियो । विभिन्न व्यक्ति तथा संस्थाको प्रेरणा र सहयोगले जेनीले जसोतसो एसिड आक्रमणको पीडालाई केही हदसम्म भुल्न सफल भएकी छिन् भने भविष्यमा यसरी अन्यायमा परेका महिलाहरुको हक र हितको लागि लड्ने प्रण लिएकी छिन् ।

जेनी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै नेपालमा थुप्रै महिलाहरु एसिड आक्रमणमा परेर पीडादायी जीवन जीउन बाध्य भएका छन् । नेपालमा एसिड आक्रमणमा परेकाहरुको अध्ययन गर्दा उनीहरुले मुलतः तीनथरीको अवस्थामा आउने परिवर्तनका कारण मानसिक चिन्ता हुने देखिएको छ ः शारीरिक, आर्थिक र सामाजिक अवस्था । एसिड छ्याप्नेहरुमध्ये धेरैले पीडितको अनुहारलाई क्षतविक्षत बनाउने उद्देश्यले छ्यापेको देखिन्छ । यसले पीडितको अनुहारलाई नै कुरुप बनाइदिन्छ । कतिले आँखा गुमाएका छन् भने कतिको कान नै विलुप्त भएको देखिन्छ । त्यस्तै कतिले हात गुमाएका छन् । एसिडको प्रभावले धेरैले श्वास प्रश्वास र आँखासम्बन्धी दीर्घरोगबाट ग्रसित भएको पाइएको छ । यसरी अनुहार कुरुप हुँदा, अङ्गभङ्ग हुँदा र विभिन्न रोग लाग्दा उनीहरु मानसिक रुपमा विक्षिप्त हुन्छन् । यसैको कारण कतिले आत्महत्याको प्रयाससमेत गरेको भेटिन्छ ।

त्यस्तै, एसिड आक्रमणले पीडित लगायत उसको परिवारमा आर्थिक असर पार्दछ । माथि उल्लेख गरिएझैँ नेपालका अधिकांश एसिड पीडितहरु आर्थिक रुपमा विपन्न परिवारका छन् । एसिड आक्रमणको उपचार खर्च अत्यन्तै महंगो पर्ने हुँदा उपचारको क्रममा नै उनीहरु आर्थिक अभावका कारण मानसिक तनावमा पर्दछन् । एसिड आक्रमणका साथमा आर्थिक समस्यामा पर्दा धेरै पीडित तथा तिनका परिवारका सदस्यहरु मानसिक रुपमा विक्षिप्त भएको पाइएको छ । त्यस्तै, परिवारको गुजाराको लागि कमाउने व्यक्ति नै एसिड आक्रमण परेको अवस्थामा त परिवारको आर्थिक अवस्था डामाडोल नै बनाइदिन्छ । अनुसन्धानको क्रममा धेरैले यस्तो अवस्थामा आत्महत्या नै प्रमुख विकल्पको रुपमा लिएर त्यसको लागि प्रयास गरेको भेटियो ।

एसिड आक्रमणमा परेकाहरुमा मानसिक तनाव बढाउने अर्को प्रमुख कारण भनेको सामाजिक अपहेलना हो । अनुहार कुरुप र शरीरमा अङ्गभङ्ग भएपछि पीडित मानसिक रुपमा विक्षिप्त त भएकै हुन्छ, त्यसमाथि घरबाहिर निस्केपछि उनीहरुले अनेक प्रकारका प्रताडनाहरु भोग्नुपर्ने हुन्छ । कतिपय समाजमा एसिड पीडित महिलालाई नै त्यसको दोष लगाउने गरिन्छ । ‘यो नै दायाँबायाँ लागीहोली, त्यसैले यसलाई श्रीमानले एसिड छ्यापीदियो’ भन्ने जस्ता आरोप लगाइने गरिन्छ । एसिड पीडित जेनी खड्काका अनुसार एसिड आक्रमणमा परेपछि उनी घरबाट निस्कने बित्तिकै छिमेकीहरुबीच ‘खासखुस’ सुरु हुन्थ्यो । त्यस घटनापछि कत्तिले त उनीसँग बोलचालै बन्द गरे ।

त्यस्तै, परिवार र नातागोताका सदस्यहरुले आवतजावत बन्द गरेको घटना पनि सुनियो । केहीले आक्रमणपश्चात् आफ्नो ‘प्रेम सम्बन्ध’ टुटेको र हुन लागेको बिहे पनि तोडिएको कुरा बताएका छन् । यसरी एसिड आक्रमणले वैवाहिक जीवनमा पनि आघात पुर्याउने र पारिवारिक सम्बन्धमा दरारका कारण उनीहरु थप मानसिक तनावमा पर्दछन् । कतिपय पीडितहरु अघोसित रुपमा सामाजिक वहिस्करणमा परेको कुरा सुनाउँछन् । यसले उनीहरु आफु एक्लो भएको महसुस गर्दछन् र थप मानसिक चिन्तामा पर्दछन् ।

उल्लेखित कारणहरुले गर्दा पीडितहरुमा नैरास्यता पैदा हुन्छ । यस्तो अवस्थामा आत्मवल गिर्ने हुँदा उनीहरु त्रासका सिकार हुन्छन् । पीडकले फेरी आक्रमण गर्ने पो हो कि वा आफ्नो परिवारका सदस्यहरुलाई पुनः आक्रमण गर्छकि भनेर आतंकित हुने गर्दछन् । जेनी खड्काको पनि यस्तै अनुभव छ । उनका श्रीमान अहिले जेलमा छन् । जेल पर्नु अघि र जेलबाट पनि फोनमा उनलाई “म निस्कने बित्तिकै तँ र तेरो परिवार सबैलाई मार्छु” भनेर धम्की दिएको कारण उनी अझै पनि बेलाबेलामा झस्किने गर्छिन् । तसर्थ, एसिड आक्रमणमा परेकाहरुको मनोवैज्ञानिक त्रासलाई कम गर्नु जरुरी छ । समाजमा बिनाडर बाँच्न पाउने उनीहरुको हकलाई सुनिश्चित गर्नु पर्दछ ।

एसिड हिंसा अन्त्य गर्न उत्तम तरिका भनेको यसको जड कारणहरूलाई सम्बोधन गरेर यस्ता घटना नै हुन नदिनु हो । एसिड आक्रमणको रोकथाम गर्न बनेका नीतिहरूको कडाईका साथ कार्यान्वयन हुन आवश्यक छ । एसिड आक्रमणबाट हुने मनोबैज्ञानिक असर जस्तै: डर, त्रास, चिन्ता, निराशा र मानसिक आघातलाई न्यूनीकरण गर्न राज्यबाट यथोचित सहयोग र सद्भाव प्रदान गर्नु पर्दछ । त्यस्तै, सम्पूर्ण नागरिकहरुले व्यक्तिगत रुपमा तेस्ता पीडितहरुलाई साथ र सहयोग दिनु पर्दछ । उनीहरुलाई आवश्यक पर्ने उपचार तथा मनोसामाजिक र मनोवैज्ञानिक परामर्श निशुल्क रुपमा प्रदान गरिनु पर्छ ।
एसिड आक्रमणबाट हुने मनोबैज्ञानिक असरहरुलाई न्युनिकरण गर्न विभिन्न तवरबाट उपायहरु अपनाउन सकिन्छ ।

पीडित ब्यक्तिलाई गर्नुपर्ने सहयोग
क) पीडितहरुको आत्मबल र आत्मप्रेमलाई प्रबल बनाउन सहयोग पुर्याउने ।
ख) सकारात्मक र प्रेरणादायी सोँचाईको विकासको लागि उनीहरुलाई विभिन्न माध्यमबारे जानकारी गराउने ।
ग) इच्छाएका कुराहरुलाई प्राथमिकता दिएर त्यसमा निरन्तरताका साथ खुशी हुँदै जीवनमा अगाडि बढ्न हौसला दिने ।
घ) पीडितहरुसँग बोल्दा अथवा व्यवहार गर्दा माया र सद्भावना राख्ने । उनीहरुलाई सँधै ‘हामी सँधै तिम्रो साथमा छौँ’ भन्ने कुरा दशार्उने ।

पीडितलाई परिवारका सदस्यहरुले गर्नुपर्ने सहयोग :
क) घरका सदस्य र आफन्तले माया र सुरक्षाभावसहित जीवनमा अगाडी बढ्न हौसला दिने ।
ग) घरका सदस्यहरुले घरको बातावरणलाई शान्त र स्वस्थ बनाउन कोसिस गर्ने ।
घ) पीडितहरुलाई घरको जिम्मेवारीप्रति ध्यान लगाउन प्रोत्सान गर्दै उनीहरु माथि घटेको घटनालाई बिर्सन वा उनीहरुको मनलाई घटनाबाट हटाउन मदत गर्ने ।
ङ) मनोसामाजिक र मनोबैज्ञानिक विशेषज्ञको सहयोग दिलाउने । निरन्तर रुपमा मनोसामाजिक परामर्श सेवा दिने ।

पीडितलाई समाजले गर्नुपर्ने सहयोग :
क) समाजमा हुनसक्ने भेदभावलाई पूर्ण रुपमा निषेध गर्ने ।
ख) समाजमा मानवता भावना विकास गरी सबैले पीडितहरुलाई ‘आफ्नो मान्छे’ को व्यवहार गर्ने । उनीहरुलाई पूर्ण रुपमा आफू सुरक्षित छु भन्ने विश्वास दिलाउने ।
ग) एसिड आक्रमणका पीडितहरुको हितको निमित्त उनीहरुको न्यायको लागि सामाजिक तथा कानुनी रुपमा सहयोग गर्ने ।
घ) सामाजिक कार्यकर्ताहरुले समाजमा रहेका एसिड आक्रमणका पीडितहरुको आवाजलाई समाजको अगाडी ल्याएर त्यसलाई माथिल्लो तह सम्म पुर्याउन सहयोग गर्ने ।

पीडितहरुलाई राज्यले गर्नुपर्ने सहयोग :
क) पीडकलाई कडाभन्दा कडा सजायँ दिने ।
ख) सरकारबाट एसिड आक्रमण विरुद्ध बनाएको नीति नियम र कानुनमा कडा कार्यान्वयन गर्ने ।
ख) एसिड आक्रमणका पीडितहरुलाई सामान्य मनिसहरुसँग सरकारी वा निजी कार्यालयमा काम गर्ने अवसर दिलाउने ।
ग) पीडितहरुलाई आवश्यक मनोसामाजिक र मनोवैज्ञानिक परामर्श निशुल्क रुपमा दिने व्यवस्था गराउने ।
घ) पीडित र तिनका परिवारका सदस्यहरुको आर्थिक सशक्तीकरणका लागि नयाँ पहलको स्थापना गर्ने ।

माथि उल्लेखित कार्य गर्न सकिएमा एसिड पीडितहरुको मनोवल बढ्नुका साथै उनीहरु समाजमा पुनः स्थापित हुन सक्नेछन् । कुनै पनि व्यक्ति ‘एसिड पीडित’ हुनुमा उनीहरुको दोष हुँदैन । तसर्थ, समाजले उनीहरुलाई थप माया, सम्मान र हौसला प्रदान गर्नुपर्छ भने समाजमा किन एसिड पीडक पैदा हुन्छ भन्नेबारे वहस गरी त्यसको समाधानको लागि कार्य गर्नु पर्दछ ।

लेखक नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज), जोरपाटीमा
जनस्वास्थ्य विषय प्राध्यापन गर्दछन्

प्रतिक्रिया