सोमबार, वैशाख १५, २०८२

यमपञ्चककाे पहिलाे दिन आज कागतिहार

नेपालखोज २०७७ कार्तिक २८ गते ६:४४

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुकाे दाेस्राे ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

आज कात्तिक २८ गते तिहारको पहिलो दिन । तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । काग कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइन्छ । काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

प्रतिक्रिया