यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुकाे दाेस्राे ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । आजको दिनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइ पूजा गरेर कुकुर तिहार मनाउने चलन रहदै आएको छ ।
आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने हिन्दु मान्यता रहदै आएको छ । भैरवको बहानको रुपमा चिनिने कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावरको रुपमा पनि चिनिन्छ ।
कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।








प्रतिक्रिया