मंगलबार, पुष १, २०८२

कोरोना कहरकाबिच देशकै जेठो अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

नेपालखोज २०७७ मंसिर ३ गते १४:३६

काठमाडाैं । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन ३१औँ दिनपछि पनि जारी रहेको छ ।

कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाई आएको सेवा–सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीले ३१औँ दिनमा आन्दोलन जारी राखेका हुन् ।

कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकको मनोबल गिराउने काम सरकार गरेको उनीहरूको आरोप छ ।

आफूहरूले पाउँदै आएको सेवा–सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१औँ दिनमा पनि जारी रहेको छ ।

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरूले सरकारले तोकेको सेवा–सुविधासमेत पदाधिकारीले नदिने गरेको आरोप लगाउँदै आएका छन् ।

चिकित्सकहरूले बिरामीहरूको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएका छन् ।

आफ्ना माग पूरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

प्रतिक्रिया