बुधबार, वैशाख १२, २०८१

गोपीले जिते धारा नेपालगन्ज म्याराथन, टोकियो ओलम्पिकका लागि छनोट

नेपालखोज २०७७ मंसिर ६ गते १६:२९

एजेन्सी । छैठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्कीले जितेका छन् । यो उपाधि जितेसँगै गोपी आगामी वर्ष जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदका लागि छनौट भएका छन् ।

शनिबार बिहान भएको म्याराथनमा १३औं दक्षिण एसियाली खेलकुद ९साग० का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्णा बस्नेतलाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।

पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे । दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे ।
यस्तै महिलातर्फको हाफ म्याराथनको उपाधि विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले जितेकी छिन् ।

उनले निर्धारित २१।०९७ किलोमिटरको दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । पुष्पाले १३ औं सागमा रजत पदक जितेकी थिइन् । कोरोना महामारीका कारण यस पटकको म्याराथनमा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रनमात्र समावेश गरिएको थियो ।

च्याम्पियन बनेसँगै गोपीले ७५ हजार रुपैया हात पारे । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए ।

प्रतिक्रिया