मंगलबार, वैशाख ११, २०८१

राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्छ : अध्यक्ष यादव

नेपालखोज २०७७ मंसिर ७ गते २१:४०

दमौली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष स्व भीमप्रसाद गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले जबसम्म राजनीति मूल्य र मान्यतामा आधारित हुँदैन, तबसम्म देश र जनताको हित हुन नसक्ने बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, “राजनीति आदर्श र लक्ष्यप्रति केन्द्रित नभएसम्म त्यो राजनीतिले देश र जनताको हित गर्न सक्दैन् । त्यो राजनीति नभएर एक खालको पेशा हो ।” उनले राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै मुलुकलाई सामाजिक आर्थिक रुपान्तरणबाट अगाडि बढाउनु पर्ने अहिलेको मुख्य आवश्यकता रहेको औँल्याएका छन् ।

अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्य नेपालको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि रहेको चर्चा गर्दै यस उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको बताएका छन् । लोकतान्त्रिक मूल्य, मान्यता, विधि र प्रक्रियाबाट शासन प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउँदै उनले वर्तमान परिस्थितिमा लोकतान्त्रिक शक्ति र संस्था कमजोर हुँदै गएकाले वैचारिक सिद्धान्त र आदर्शका कुरामा पनि ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष यादवले जनताको मुक्ति र अधिकारका लागि सङ्घर्षरत रहनुभएका स्व गौतमको निधनले देशलाई अपूरणीय क्षति पुगको बताए । “शोषित पीडित जनताका पक्षमा स्व गौतमले गर्नुभएको राजनीति र सामाजिक आन्दोलन महत्वपूर्ण छ”, उनले भने, “स्व गौतमले गरेका कार्यलाई सम्झिने, कदर गर्ने गर्नु पर्छ ।” गौतमले राजनीतिक, सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई सङ्ग्रह गरेर उनका विषयमा पुस्तक प्रकाशित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया