बिहीबार, चैत १५, २०८०

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

नेपालखोज २०७७ मंसिर १२ गते ८:१४

काठमाडौं । देशभरिका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ । ६ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई हिजो र आज गरि भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।

गत कात्तिक २ र ३ गते खुवाउनु पर्नेमा भएपनि दसैंका कारण एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताउनु भयो । यसअघि कोरोना भाइरसका कारण वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।


मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो । सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागु गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र बालभिटा खुवाइन्छ । करिब ५२ हजार स्वयंसेविका कार्यक्रममा संलग्न छन् ।

एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाबाट बचाउन औषधि खुवाइन्छ । पाण्डेका अनुसार यस पटक जुकाको औषधि २४ लाख ८ हजार ३३० बालबालिकालाई खुवाउन थालिएको हो । सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६र६७ देखि बालभिटा खुवाउन थालिएको हो ।

प्रतिक्रिया