आइतबार, वैशाख १६, २०८१

विश्वका ७३ करोड ५० लाख मानिस भोकमरीको सिकार

नेपालखोज २०८० साउन ३ गते ७:००

विश्वमा खाना र शुद्ध जल अभावमा बाँचिरहेका मानिसहरुको संख्या तीव्र गतिमा बढिरहेको छ । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनमा विश्वका ७३ करोड ५० लाख मानिस भोकमरीको सिकार भएको बताइएको छ । संयुक्त राष्ट्रसंघको ‘द स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वर्ल्ड – २०२२’ प्रतिवेदन अनुसार सन् २०१९ पछि भोकमरीसँगको संघर्ष तीव्र गतिमा बढेको छ । सन् २०१९ मा विश्वका ६१ करोड ८० लाख मानिसले भोकमरीको सामना गर्नुपरेको थियो । यसको अर्थ तीन वर्ष मा मात्रै १२.२ करोड मानिस बढेका छन्, जसले एक समयको खाना पाएनन् ।

यसको कारण कोभिड–१९ को महामारी, जलवायु परिवर्तन तथा रुस–युक्रेन युद्ध हो । प्रतिवेदन अनुसार भोकमरीको अवस्था यस्तै रह्यो भने सन् २०३० सम्ममा ६० करोड मानिस कुपोषणको सिकार हुनेछन् । प्रतिवेदनमा भनिएको छ -गत वर्ष अर्थात् २०२२ मा विश्वको कुल जनसंख्याको ११.३ प्रतिशत (लगभग ९ करोड मानिस)ले पर्याप्त खाद्यान्न पाएनन् । जसका कारण तीन मध्ये एक जना मानिस खाली पेट सुत्न बाध्य भए । सरल शब्दमा भन्नुपर्दा २४० करोड जनता वा विश्वको जनसंख्याको २९।६ प्रतिशतलाई निरन्तर खाद्यान्न उपलब्ध गराउन सकिएको छैन । यसबाहेक सन् २०२१ मा विश्वका ३१० करोड जनता अर्थात् ४२ प्रतिशत जनसंख्याले पोषणयुक्त खाना पाएका छैनन् ।

४.५ करोड बालबालिका कुपोषणको सिकार

संयुक्त राष्ट्रसंघको खाद्य सुरक्षा तथा पोषण विश्व प्रतिवेदनले पनि सन् २०२२ मा ५ वर्ष मुनिका ४.५ करोड बालबालिका कुपोषणको सिकार भएको जनाएको छ । योसँगै १४.८ करोड बालबालिकाको वृद्धि र विकास रोकिएको छ । यी बालबालिका निकै पातला र कमजोर भएका छन् । यी बालबालिका आफ्नो उमेर अनुसार कम तौलका हुन्छन्।

रुस–युक्रेन युद्धको गम्भीर असर

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय मुद्रास्फीति बढेको प्रतिवेदनमा उल्लेख छ जसका कारण सर्वसाधारणले दैनिक उपभोग्य वस्तु खरिद गर्न पाएका छैनन् । वास्तवमा रसिया र युक्रेन दुवै गहुँ, सूर्यमुखी तेल , मल लगायतका कृषि उत्पादनका प्रमुख निर्यातकर्ता हुन् । युद्ध सुरु भएदेखि नै ती सामग्रीको विश्वव्यापी आपूर्ति श्रृंखला प्रभावित भएको छ ।भोकमरीका हिसाबले प्रजातान्त्रिक गणतन्त्र कंगो, इथियोपिया, अफगानिस्तानका साथै रुस र युक्रेनबाट गहुँ आयात गर्ने पश्चिमी एसियाली मुलुकहरूको अवस्था सबैभन्दा खराब छ । यो प्रतिवेदनका लेखक म्याक्सिमो टोरेरोले युद्धको प्रभाव लामो समयसम्म गम्भीर हुने बताएका छन् ।

कोरोना र जलवायु परिवर्तनको प्रभाव

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण खाद्यान्न आपूर्तिको श्रृंखला अवरुद्ध भएको थियो ।
यसै क्रममा कुपोषणले कोरोनाको जोखिम बढाउन सक्ने एक अनुसन्धानमा बताइएको छ । जीवनको कुनै न कुनै बिन्दुमा कुपोषणको इतिहास भएका बालबालिका र वयस्कहरूलाई संक्रमण भए मृत्युको जोखिम उच्च हुन्छ। अन्वेषकहरू भन्छन् ( कुपोषणले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीको क्षमतामा प्रतिकूल असर पार्छ । यसैगरि जलवायु परिवर्तनका कारण कतै बाढी त कतै खडेरिको प्रकोप देखिएको छ। गर्मीका कारण धेरै ठाउँमा बाली डढेको छ भने जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर कृषिमा परेको छ ।

प्रतिक्रिया