चिनियाँ रक्षामन्त्री वेइ भोलि नेपाल आउँदै

नेपालखोज २०७७ मंसिर १३ गते १२:१७

काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोली नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ । भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

चिनियाँ रक्षामन्त्रीले दक्षिण एशियाको भ्रमणको शुरुवात नै नेपालबाट गरेका छन् । उनी भोलि नै नेपालबाट बंगलादेश जाने छन् भने त्यहाँबाट पाकिस्तान पुगेर चीन फर्किने छन् । कोभिड(१९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेइ सबैभन्दा वरिष्ठतम चिनियाँ अधिकारी हुन् ।

उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने तय भएको परराष्ट मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

प्रतिक्रिया