बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय सहकारी बैंकद्वारा तनहुँका दुई सहकारी पुरस्कृत

नेपालखोज २०७७ मंसिर १५ गते १२:५७

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले तनहुँका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई आइतवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

बैंकको दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने रोयल सहकारी संस्था लिमिटेड दुलेगौडा र नियमित कारोबार गर्ने साहारा कृषि सहकारी संस्था लिमिटेड दमौलीलाई पुरस्कृत गरिएको हो । रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्ले र साहारा कृषि सहकारीका अध्यक्ष कृष्ण आचार्यलाई ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सम्मानपत्र सहित पुरस्कृत गरेका हुन् ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारीको बैंकको भूमिका दिन प्रतिदिन प्रभावकारी बन्दै गएको बताए । उनले सहकारीहरुको संस्थागत विकास र सदस्यको आर्थिक समृद्धिका लागि सहकारी बैंक र सहकारी संस्थाहरुबीच सहकार्यमा जोड दिए ।

कार्यक्रममा बैंकका सञ्चालक जिसीले सदस्य सहकारीहरुमार्फत समाज रुपान्तरणका लागि सहकारी बैंक सदैव सक्रिय र समन्वयकारी रहेको बताए । उनले वित्तीय कारोबारका साथै संस्थाको संस्थागत विकास र सुशसान तथा सञ्चालक तथा कर्मचारीहरुको नेतृत्व र क्षमता विकासका लागि बैंकले सञ्चालन गरेका कार्यक्रमहरुमा सहभागिताका लागि आव्हान गरे ।

सम्मान कार्यक्रममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, पुरस्कृत संस्थाका तर्फबाट रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्लेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बैंक समन्वय उपसमिति दमौलीकाका संयोजक अमर बहादुर कुँवरकोको अध्यक्षता, सदस्य प्रदिप अधिकारीको स्वागत र शाखा प्रमुख युवराज दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया