मंगलबार, वैशाख ११, २०८१

कैलालीमा दुई अस्पताल शिलान्यास

नेपालखोज २०७७ मंसिर १५ गते १४:५७

कैलालीमा दुई स्वास्थ्य भवन शिलान्यास गरिएको छ । घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् भने गौरीगङ्गा र लम्कीचुहा नगरपालिका तथा महुन्याल गाउँपालिकाले आन्तरिक तयारी हुन नसकेको जनाई मङ्गलबार शिलान्यास गरिने बताइएको छ ।

अघिल्ला चार स्थानीय तहमा १५ – १५ शय्या र महुन्यालमा १० शय्याको अस्पताल निर्माण हुने भएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सङ्घीय सांसद गौरीशङ्कर चौधरीले अस्पतालको शिलान्यास गरेको बताउँदै समयअघि नै अस्पतालको काम सम्पन्न हुने गरी काम गरिने दृढता व्यक्त गरे । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले पनि गाउँपालिकामा १५ सैयाको अस्पतालको शिलान्यास भएको जानकारी दिएका छन् ।

लम्कीचुहाका प्रमुख महादेव बजगाईँले मङ्गलार स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अस्पताल भवनको शिलान्यास गर्ने जानकारी दिए । गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाका अनुसार मङ्गलबार स्वास्थ्य राज्यमन्त्री रावतले अस्पताल शिलान्यास गर्नेछन् । महुन्याल गाउँपालिकामा भने अध्यक्ष नवलबहादुर रावल कोरोना सङ्क्रमित भएर उपचाररत रहेकाले अस्पताल शिलान्यास गर्न समय लाग्ने भएको छ । अध्यक्ष रावलले आफू कोरोना सङ्क्रमित भई टीकापुरमा उपचार गराइरहेको बताउँदै अस्पतालको शिलान्यासका लागि केही तयारी गर्न बाँकी रहेकाले समय लाग्न सक्ने जनाए ।


जिल्लाका धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकामा पुरानै अस्पताल छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख गुणराज अवस्थीले बाँकी स्थानीय तहमा अर्को वर्ष अस्पताल निर्माणको काम हुने जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १५ शय्याका २३ र १० शय्याका ३१ अस्पताल निर्माण गरिने छन् । प्रदेशका १३ स्थानीय तहमा अहिले पनि अस्पताल सञ्चालित छन् ।

प्रतिक्रिया