शनिबार, असार ३०, २०८१

उदयपुरको सिमेन्ट खानीमा बम विष्फोट, पाँच मजदुर घाइते

नेपालखोज २०७७ मंसिर १९ गते १२:५४

उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ भाण्टावारीस्थित एक सिमेन्ट उद्योग नजिक बम विष्फोट हुँदा पाँच जना मजुर घाइते भएका छन् । बम विष्फोटबाट सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेका एक स्कोभेटर, मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कटारीका डिएसपी हेमन्त भण्डारीकाअनुसार अन्य तीनवटा स्काभेटरमा पनि क्षति पुगेको छ । मध्यराति १२ बजेर १५ मिनेटमा खानी क्षेत्रलाई लक्षित गरि राखेको बम विष्फोट हुँदा भाग्ने क्रममा पाँच मजदुर घाइते भएको प्रहरीले बताइएको छ । अज्ञात समूहले बम विष्फोट गराएको खानीका कर्मचारीले बताएका छन् ।

सात जनाजतिको समूहमा आएका उनीहरुको पहिचान हुने सकेको छैन । बम विष्फोटपछि रोकिराखेका स्काभेटरमा पनि आगो लगाएका छन् । विष्फोटबाट उद्योगमा कार्यरत कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडा नम्बर ७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका–२ का २५ वर्षीय दुर्गा तामाङ, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान, १८ वर्षीय शिवशंकर मोक्तान रहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।

उनीहरु सबैको अवस्था अहिले सामान्य छ । कटारी अस्पतालमा सामान्य उपचारपछि घर पठाइएको डिएसपी भण्डारीले जानकारी दिए । अन्य दुई वटा घटनास्थलमा शंकास्पद देखिएकाले नेपाली सेनाको टोलीलाई खवर गरिएको छ । घटना लगत्तै डिएसपी भण्डारीको कमाण्डमा प्रहरी टोली परिचालन गरी एरिया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए ।

प्रतिक्रिया