सोमबार, असार ३२, २०८१

हिंसापीडितको साहसका लागि सम्मान र सहयोग

नेपालखोज २०७७ मंसिर २३ गते ७:३७

सप्तरी । हिंसापीडितहरूको साहस र हिम्मतको सम्मानमा सोमबार राजविराजमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका–२ की विजयादेवी यादवलाई सम्मान गरिएको हो । उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको छ ।

मुस्किल परिस्थितिमा पनि डटेर सामना गर्दै आफ्नै न्यायका लागि लगातार सङ्घर्ष गरिरहेकी यादव र मृत्युवरण गर्न बाध्य बनाइएकी सङ्गीता मण्डलका आरोपितलाई कारवाही गर्न देखाएको साहसका लागि उनकी आमा रधियादेवीलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । हिंसापीडितलाई हौसला प्रदान गर्ने कार्यक्रमबमोजिम दहेजमुक्त मिथिला नेपालका अध्यक्ष करुणा झाले मण्डल र यादवलाई सम्मान गरेकी हुन् ।

आँट, भरोसा र आशा दिनेभन्दा धम्क्याउने बढी भएकाले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मानले हौसला बढेको उनीहरूले बताए । इन्सेक, दहेजमुक्त मिथिला, मैथिली साहित्य परिषद्, राजविराज जेसीज, नगर बाल सञ्जाललगायतको मूल समारोह समितिको आयोजनामा राजविराजस्थित शहीद दशनचोकमा आयोजित कार्यक्रममा मण्डल र यादव सम्मानित भएका हुन् ।

गत भदौ २९ गते सामूहिक बलात्कारबाट पीडित १७ वर्षीया सङ्गीता मण्डलको अस्मिताको मूल्य तोक्दै पञ्चहरूले आरोपितलाई कारवाही गर्न रोकेपछि भदौ ३० गते आत्महत्या गरेकी थिइन् । मृतक सङ्गीताकी आमा रधियादेवीले न्याय दिलाउनुको साटो अस्मिताको मूल्य पञ्चहरूले तोकेर अपमान गरेकाले नै उनले पासो लगाएर मृत्यु रोजेको दुखेसो गरिन् ।

प्रतिक्रिया