मंगलबार, साउन १, २०८१

१०० दिनमा १० करोड नागरिकलाई खोप लगाउने बाइडेनको घोषणा

नेपालखोज २०७७ मंसिर २४ गते ९:४५

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पद सम्हालेको पहिलो १०० दिनमा नै अमेरिकाका १० करोड नागरिकलाई कोभिड–१९ खोप लगाउने घोषणा गरेका छन्। उनको कार्यकाल आगामी २० जनवरीबाट शुरु हुनेछ।

उनले स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा १०० दिनभित्र कोभिड–१९ अन्त्य नभए पनि आफूले बाटो मोड्ने दाबी गरे। १०० दिनसम्म मास्क लगाउन पनि उनले आफ्ना नागरिकलाई आग्रह गरेका छन्।

बाइडेनले क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरालाई अमेरिकाको आगामी स्वास्थ्य मन्त्री घोषणा गरेका छन्। त्यस्तै रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन्।

बाइडेनले बालबालिकालाई पुनः विद्यालय फर्काउन आफूले प्राथमिकताका साथ काम गर्ने बताए। त्यसका लागि अमेरिकामा खोप अभियान आवश्यक भएको उनको भनाइ थियो।

अमेरिकाको नियामक निकायले मंगलबार नै फाइजर र बायोनटेक कम्पनीको खोप ९५ प्रतिशत प्रभावकारी रहेको जनाएको छ। त्यस्तै खाद्य तथा औषधि निकाय ९एफडीए० ले फाइजरको खोपलाई सुरक्षाकै कारण स्वीकृति दिन रोक्नुपर्ने कारण नभएको स्पष्ट पारेको छ। यसबाट यो खोपलाई अमेरिकाले चाँडै स्वीकृति दिने अपेक्षा गरिएको छ।

बेलायतमा गत साता नै स्वीकृति पाएको यो खोप सर्वसाधारणलाई लगाउन थालिसकिएको छ। खोपबारे निर्णय गर्न एफडीएको बैठक बिहीबारका लागि बोलाइएको छ। बैठकले आपतकालीन प्रयोगका लागि स्वीकृति दिने अपेक्षा छ।

प्रतिक्रिया