सामाजिक संजाल फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या

काठमाडौं । विश्वमै सबैभन्दा बढी प्रयोग हुने सामाजिक संजाल फेसबुकमा समस्या देखिएको छ । फेसबुक म्यासेञ्जर डाउन तथा काम नगर्ने भएको छ । विश्वभरका थुप्रै प्रयोगकर्ताले च्याट एपमा समस्याको सामना गरिरहेका हुन् । नेपालमा पनि विहिबार दिउँसो ३ बजेपछिदेखि यो समस्या देखिएको छ ।
फेसबुकको यो आउटेज समस्याका कारण दशौं हजार प्रयोगकर्ताले म्यासेञ्जरको सेवा प्रयोग गर्न सकिरहेका छैनन् । अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरकाअनुसार नेपालसहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन सकिरहेका छैनन् ।
यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको छ । डाउन डिटेक्टरकाअनुसार हरेक मिनेट २४०० प्रयोगकर्ताले म्यासेञ्जर लगईन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् । यस्तो समस्या नेपालमा मात्र नभएर युरोपका प्रयोगकर्ताले समेत सामना गरिरहेका छन् । डाउन डिटेक्टरको म्यापमा म्यासेञ्जर डाउनको समस्या बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका देशमा देखिएको छ ।
अहिलेसम्म के कारणले यस किसिमको समस्या देखा परेको हो र कति समयमा समाधान हुन्छ भन्ने विषय स्पष्ट भइसकेको छैन् । म्यासेञ्जर मात्र नभएर फेसबुककै अर्को एप इन्स्टाग्रामसमेत डाउन भएको उल्लेख गर्दै केही प्रयोगकर्ताले रिपोर्ट गरिरहेका छन् ।
प्रतिक्रिया