बुधबार, असार १८, २०८२

नवलपरासीमा अवैध गिट्टी ओसार्न गएका ट्याक्टर चालकको मृत्यु, स्थानियद्वारा राजमार्ग अवरुद्ध

नेपालखोज २०७७ मंसिर २६ गते ८:४०

नवलपरासी । ट्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ ।

चालकको मृत्युपछि दुम्किवास स्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका छन् । मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्याक्टर चालकको मृत्युपछि राति १ बजेदेखि तनाव सिर्जना भएको हो ।

प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवैधरूपमा निकाल्दै गरेका ट्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । स्थानीयवासीले भने प्रहरीको कुटाइका कारण चालकको ज्यान गएको भन्दै विरोधमा उत्रिएका छन् । ट्याक्टर दुर्घटनामा दाङको राजपुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताएका छन् ।

ट्याक्टर भाग्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको राति नै भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले चारवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् । राति ११ बजेको समयमा खोलामा घटना घटेको हो । चालक नयाँ भएको र बाटोबारे ज्ञान नहुँदा भाग्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बमले बताए ।

प्रतिक्रिया