बिहीबार, वैशाख ६, २०८१

रुद्राक्ष व्यवसायी चिन्तामा

नेपालखोज २०७७ मंसिर २६ गते २१:२५

काठमाडौं । कोभिड–१९ महामारीका कारण यसवर्ष रुद्राक्ष व्यवसायी चिन्तामा छन् । चिनियाँ व्यापारीसँग निर्भर रहेको रुद्राक्ष व्यापार लकडाउनका कारण प्रभावित भएकाले लगानी उठाउन समस्या हुने व्यवसायीहरु बताउँछन् ।

रुद्राक्षको आफ्नै धार्मिक महत्व पनि छ । धर्मका लागि भनेर रुद्राक्ष भारतमा पनि जाने गर्छ । नेपालका करिव ४५ जिल्लामा यसको उत्पादन हुने गर्दछ । देशभरमा वर्षमा अर्बौ रुपैयाँ बराबरको कारोबार हुने रुद्राक्ष व्यवसायी संघले जनाएको छ ।

विगत ३–४ वर्षदेखि काठमाडौं पछाडि रुद्राक्ष कारोबारको मुख्य केन्द्र संखुवासभाको सदरमुकाम खाँदबारी, तुम्लिङटार र भोजपुरको दिङ्ला, नेपालेडाँडा रहेको छ । आधिकारिक तथ्यांक नभए पनि गतवर्ष करिव ५ अर्ब रुपैयाँ बराबरको रुद्राक्ष कारोबार भएको व्यापारीहरुको अनुमान छ ।

यसवर्ष भने सिजनको सुरुवात हुँदादेखि नै कारोबार हुन नपाउँदा लगानी उठाउन नसकिने हो कि भन्ने चिन्ता बढेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । महामारीका कारण चिनियाँ व्यापारीहरु नेपाल आउन नसक्दा अघिल्लो वर्षको तुलनामा रुद्राक्षको भाउमा गिरावट आएको व्यवसायी नवीन गौतम(प्रयाग) बताउँछन् । उनी थप्छन्, ‘पोहोर यो समयमा प्रायः चिनिया व्यापारीहरु आइसक्ने गर्थे । व्यापारको चहलपहल सुरु भइसक्थ्यो । यस्तो अवस्थामा के व्यापार चल्छ र ?’ हजारौंको संख्यामा आउने चिनियाँ व्यापारीहरु कोरोना महामारीका कारण आउन नसक्दा तथा सरकारले हालसम्म यो व्यवसायप्रति कुनै चासो नदेखाएका कारण अवको रुद्राक्ष व्यवसाय धरासायी वन्ने निश्चित देखिन्छ । यतिमात्र होइन रुद्राक्ष व्यवसायको अन्योलका कारण पर्यटन व्यवसाय, हवाई, यातायात, होटल व्यवसाय र ट्याक्सी व्यवसायी पनि मारमा परेका छन् । एकातिर करोडौंको लगानी गरेर रुद्राक्षलाई गुणस्तरीय बनाउन औषधिको प्रयोग गरिएको छ भने अर्कातिर कोरोनाका कारण व्यवसाय नै अन्यौलमा परेकाले हजारौं व्यवसायीहरु साहुको रकम तिर्न हम्मे–हम्मे पर्ने गौतमको अनुमान छ ।

रुद्राक्ष व्यवसायी संघका सचिव पवन जिसी भन्छन्, ‘अघिल्ला वर्षमा भारतमा पनि धेरै मुखे रुद्राक्षहरुको माग धेरै हुने गर्थ्यो भने यो वर्ष त्यो हुन सकेन । मूल्यवान रुद्राक्षका रुखहरु रुङ्न रुँगौटेहरु पनि राख्नुपर्ने हुँदा खर्च झन् बढेको छ । करोडौं लगानी गरिसकेका व्यापारीहरु झन् चिन्तित बनेका छन् । पछिल्लो केही समय यता लगातार पानी परेका कारण पनि रुद्राक्षको गुणस्तरमा ह्रास पुगेको छ । यस्तै अवस्था रह्यो भने लगानी उठाउन पनि मुस्किल पर्नेछ ।’ नेपाल सरकारले रुद्राक्ष सम्वन्धी उचित कानून नबनाएको, ओसारपसारमा झण्झट दिने, सुरक्षाको ग्यारेन्टी नभएको तथा चोरी हुने, रुख काटिने समस्याहरु रहेको सचिव जिसीको गुनासो थियो ।

अर्का नेपालेडाँडाका व्यवसायी सुरेन्द्र राई भन्छन्, ‘अवका दिनमा व्यापक कारोबार नबढे यसवर्ष रुद्राक्ष व्यवसायीले ठूलो घाटा व्यहोर्नुपर्नेछ ।’ अधिकांश स्थानमा भदौको अन्तिम हप्ताबाट रुद्राक्षको कारोबार सुरु भइसक्थ्यो । अब केही दिनभित्रै चिनियाँ व्यापारीहरु ह्वारह्वार आएमात्र केही राहत हुने राई बताउँछन् ।

नेपाल सरकारले रुद्राक्ष व्यवसायलाई विश्वव्यापी बनाउन कसरत गर्नुपर्ने देखिएको छ । रुद्राक्षमा लगाउने करको दायरा बढाएर किसानलाई सहुलियत ऋण उपलब्ध गराएर प्रोत्साहनका कार्यक्रमहरु प्रदान गरेर थप उत्पादनमा सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया