शुक्रबार, वैशाख १४, २०८१

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७८ मंसिर ११ गते ९:२७

तनहुँ । चालु आर्थिक वर्ष ०७८\७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट २८ लाख ८३ हजार ३ सय ५५ रुपैयाँ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो । फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ ।

प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको चार महिनामा १५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फर्छयोट भएको र १०२ मुद्दा फर्छयोट हुन बाँकी छ । प्रहरीले यसअवधिमा विभिन्न मुद्दाका ८९ जनालाई पक्राउ गरेकामा एक जना फरार छन् । पक्रिएकामध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएको प्रहरीले जनाएको छ ।

चार महिनाकै अवधिमा ११ जनालाई लागुऔषधसहित पक्राउ गरिएको र उनीहरुबाट ११४ थान डाइजेपाम, ११४ थान फेनरागन, ११३ थान नुर्फिन र १० किलो ८५५ ग्राम गाजा बरामद भएको छ । प्रहरीले सोही अवधिमा १५५ रोपनी क्षेत्रफलमा लगाइएको २२ हजार ३०७ गाजाका बोट नष्ट गरेको जनाएको छ ।

प्रतिक्रिया