ट्रम्पलाई अर्को झड्का : मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज

एजेन्सी । राष्ट्रपतीय चुनावमा पराजय भएर पनि हार अस्वीकार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ ।
मत बदरको माग दाबीसहित टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतले उक्त माग दाबी सहितको मुद्दा खारेज गरेको बीबीसीले जनाएको छ । मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नै नरहेको जनाएको छ ।
यसअघि गएको मंगलबार सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा पनि खारेज गरेको थियो ।

प्रतिक्रिया