आइतबार, पुष ६, २०८२

उखु किसानको आन्दोलन सुरु : विवेकशील साझा पार्टीको समर्थन

नेपालखोज २०७७ मंसिर २८ गते १३:५२

काठमाडौं । आफुहरुले पाउनु पर्ने रकम भुक्तान गर्न माग गर्दै उखु किसान आन्दोलनमा उत्रिएका छन् । किसानले काठमाण्डौको माइतीघरमा आन्दोलन सुरु गरेका हुन् ।

गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाण्डौ आएका उनीहरुले आइतबार दिउँसोदेखि आन्दोलन थालेका हुन् । चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

किसानहरुले आफ्ना माग पूरा नहुञ्जेल माइतीघर मण्डलामा आन्दोलन गर्ने बताएका छन् । गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि उनीहरु फर्किएका थिए । तर सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसानको अडान छ ।

चिनी मिलबाट वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको उनीहरुको गुनासो छ । गएको वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइ दिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।

किसानले अझै ९२ करोडभन्दा धेरै बक्यौता पाउन बाँकी रहेको बताएका छन् । त्यस्तै उखु किसानहरुको आन्दोलनलाई विवेकशील साझा पार्टीले समर्थन गरेको छ ।

प्रतिक्रिया