आज सरकार विरुद्ध कांग्रेसले देशभर प्रर्दशन गर्ने, कुन नेताले कहाँ सम्बोधन गर्दै ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारका ज्यादती र भ्रष्टाचारका विरुद्ध देशव्यापी प्रर्दशन गर्दैछ । आज हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई कांग्रेसले आव्हान गरेको छ ।
कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले आज हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार कांग्रेसले ७७ वटै जिल्लामा र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्न लागेको हो ।
यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।
प्रवक्ता शर्माले यो सरकार बने यता भइरहेका भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने बताए । प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको समेत बताए ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन हुने बताए । उनले भने, सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रीत हुन्छ । यो प्रारम्भ मात्रै हो ।’
कुन नेताले कहाँ कहाँ सम्बोधन गर्दै ?
आज हुन लागेको प्रर्दशनमा सभापति शेरबहादुर देउवाले मकवानपुरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन् । उपसभापति विमलेन्द्र निधिले भक्तपुर र महामन्त्री शशांक कोइरालाले विराटनगरमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरीमा सम्बोधन गर्ने भनिए पनि उनी कोरोना संक्रमित भएकाले तत्काल कुनै सार्वजनिक कार्यक्रममा जाने छैनन् । चित्रलेखा यादवले सप्तरी, रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले पोखरा र एनपी साउदले अछाममा सम्बोधन गर्ने भएका छन् ।
यसैगरि कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा, सहमहामन्त्री प्रकाशशरण महतले झापा, गोपालमान श्रेष्ठले काभ्रेमा, प्रकाशमान सिंह धनुषा, गगन थापा कैलाली र प्रदीप पौडेलले कञ्चनपुरमा सम्बोधन गर्ने बताइएको छ ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।








प्रतिक्रिया