आइतबार, पुष ६, २०८२

प्रचण्ड र महासंघका नवनिर्वाचित पदाधिकारीबिच भेटवार्ता

नेपालखोज २०७७ मंसिर २९ गते २१:०१

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार सांझ उनको निवास खुमलटारमा औपचारिक भेटवार्ता गरेका छन ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधि मण्डलले दाहाललाई भेटेका हुन् ।

भेटकाक्रममा प्रचण्डले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयां टिम सफल हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधै उच्च प्राथमिकतामा राखेको प्रचण्डको भनाइ थियो ।

भेटवार्तामा महासंघले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएका थिए ।

अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सवैको कर्तव्य भएको बताएका थिए । निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरीरहेको समेत जानकारी गराए । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि सहयोगको अपेक्षा गरेको गोल्छाको भनाइ रहेको थियो ।

सो अवसरमा महासंघका पदाधिकारीहरुबाट साना तथा मझौला उद्योग व्यवसायको पुनरूत्थानमा विशेष जोड दिनुपर्ने र त्यकालागि मौद्रिक नीति मार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभुति स्थानीयतहका उद्यमी व्यवसायीहरूले गर्न पाउनु पर्नेमा जोड दिएका थिए ।

व्यवसायीहरुको प्रश्नको उत्तर दिदै नेकपा अध्यक्ष प्रचण्डले मुलुकको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नयां नेतृत्व पनि यसमानै केन्द्रीत रहेको पाउंदा आफूलाई खुशी लागेको बताए ।

प्रतिक्रिया