बिहीबार, पुष ३, २०८२

नौ महिनापछि आज काठमाडौं–दिल्ली उडान

नेपालखोज २०७७ पुष २ गते १०:२६

काठमाडाैं । नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ । कोभिड–१९ को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ । निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट आज बिहान साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पुरा गरिसकेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ । करिब आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमानले काठमाडौंबाट दिल्लीका लागि उडान भर्नेछ । त्यहि जहाजले दिल्लीबाट करिब चार जना बिजनेस क्लास र १ सय ४ जना इकोनोमिक क्लासको यात्रु बोकेर काठमाडौं फर्किने प्राधिकरणले जनाएको छ ।

यस्तै, नेपालबाट लिएर गएका यात्रुको कोरोना जाँचको पीसीआर रिपोर्टको नतिजामा फरक परेपछि चार पटकसम्म हङकङ उडानमा प्रतिबन्ध खेपेको नेपाल वायुसेवा निगमलाई अर्को समस्या परेको छ। लकडाउनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि फरकफरक समयमा भएका तीन चार्टर उडानमार्फत भिसा नै नभएका ७ जना नेपाली यात्रु लगेको भन्दै हङकङको अध्यागमन कार्यालयले निगमलाई स्पष्टीकरण सोधेको छ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले निगमलाई सोधेको स्पष्टीकरण पत्रमा चित्त बुझ्दो जवाफ नभएमा प्रतियात्रु १० हजार हङकङ डलर अर्थात नेपाली (१ लाख ५१ हजार रुपैयाँ) का दरले करिब साढे १० लाख रुपैयाँ जरिवाना तिराउने उल्लेख गरेको छ।

स्रोतका अनुसार, भिसा नभएका नेपालीलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालय र निगमको यात्रु सेवा विभागका कर्मचारीको मिलेमतोमा पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती यात्रु भदौ र असोज महिनामा भएका उडानबाट हङकङ पुगेका थिए।

प्रतिक्रिया