बिहीबार, वैशाख १३, २०८१

वास्तविक मुद्दाको सम्बोेधन हुने : अर्थमन्त्री पौडेल

नेपालखोज २०७७ पुष ४ गते १३:५१

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय क्षेत्रका वास्तविक मुद्दाहरुको सम्बोेधन हुने आश्वासन दिएकाछन । नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष सुनिलकुमार वंशल नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका अवसरमा शुक्रबार उनले जीवन र जीविका दुवैको रक्षा गर्नु सरकारको दायित्व रहेकोले आर्थिक क्षेत्रका वास्तविक समस्याहरुको समाधान गरिने बताएका हुुन ।

उद्योगी, व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेका प्रस्ट पार्दै अर्थमन्त्री पौडेलले व्यवसायी र सरकार मिलेर अघि बढनुपर्ने बताए । ‘सरकारले तपाईंहरुलाई दुःख त दिँदै दिँदैन । अहिले सरकार पनि समस्यामा छ, यो बेला तपाईंहरुले पनि सहयोग गर्नुहोस्,’ अर्थमन्त्री पौडेलले भने, ‘अहिले दुःख छ, दुःख सेयरिङ गर्नुपर्यो ।’ अर्थमन्त्री पौडेलले सो अवसरमा कानुनसम्मत व्यवसाय गर्न पनि आग्रह गर्नुभयो । उहाँले सरकार र निजी क्षेत्र मिलेर समृद्धिको लक्ष्यमा पुग्नुपर्नेमा जोड दिँदै भने, ‘मिलेरै काम गर्ने हो, अघि बढ्नुस् ।’

सो अवसरमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले सरकारलाई स्रोतको अभाव भएकाले राजस्व बुझाएर सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । मन्त्रालय अन्तर्गतका कुनै निकाय र अधिकारीले नाजायज दुःख दिएको भए सोको सूचना दिन पनि उनले आग्रह गरे । पारदर्शी ढंगले काम गर्नेमा मिलेर अघि जान मन्त्रालय तयार रहेको उनको भनाई थियो ।

यसअघि संघका अध्यक्ष वंशलले कोरोना प्रभावित व्यवसायी लक्षित सहुलियत पर्याप्त नभएको र कतिपयले लिनै नसकेको जानकारी गराएका थिए । उनले यस वर्ष अधिकांश व्यवसायीको ब्यालेन्स सिट नेगेटिभ आउने सम्भावना रहेकोले त्यसको समस्या बेलैमा सम्बोधन गर्न अर्थ मन्त्रालयले कदम चाल्नुपर्नेमा जोड दिए । कालोबजारी ऐन व्यवहारिक नभएकोमा पनि उनले ध्यानाकर्षण गराएका थिए ।

संघका उपाध्यक्ष विनोदकुमार सेठियाले अहिले मुलुकको आर्थिक गतिविधि साबिकको तुलनामा आधा मात्रैमा सीमित रहेको भन्दै आर्थिक गतिविधि बढाउन पहल गर्नुपर्नेमा जोड दिए ।

संघका महासचिव मदन मित्तलले नयाँ पुस्ताले पारदर्शी ढंगले व्यापार, व्यवसाय गर्ने वातावरण खोजेको भन्दै त्यस्तो वातावरण निर्माणतर्फ मन्त्रालय लाग्नुपर्ने बताए । भ्याटमा बहुदरको अवधारणा लागू गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्सार मूल्यांकनका समस्या पनि समाधान गर्न आग्रह गरे ।

कार्यसमिति सदस्य आकाश गोल्छाले सवारी साधनमा बैंकहरुले प्रवाह गर्ने कर्जा ५० प्रतिशतबाट बढाएर ७०–८० प्रतिशत पुर्याउन सके आर्थिक गतिविधि र राजस्व दुवै बढ्ने बताए । प्रतिनिधिमण्डलमा संघका अध्यक्ष सुनिलकुमार वंशल, उपाध्यक्ष विनोद सेठिया, महासचिव मदन मित्तल, सचिव अनिलकुमार अग्रवाल र कार्यसमिति सदस्यहरु आकाश गोल्छा, सुशील गुप्ता र प्रभात सर्राफ रहेका थिए ।

प्रतिक्रिया