सोमबार, पुष ७, २०८२

प्रतिनिधिसभा विघटन र नयाँ चुनावको घोषणासँगै दलहरु छुट्टाछुट्टै छलफलमा

नेपालखोज २०७७ पुष ६ गते ७:४६

काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरु छुट्टाछुट्टै छलफलको तयारीमा जुटेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दैछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन् । संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान आफू निकटका नेता तथा सांसदहरुलाई बालुवाटार बोलाउनु भएको छ । आफ्नो आउँदो रणनीतिबारे छलफल गर्न र जानकारी गराउन प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गरेका छन् ।

प्रतिक्रिया