नलगाड जलविद्युत् आयोजनाको काम छाड्ने सेनाको चेतावनी

काठमाडौं । छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ ।
सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत नगरेको सेनाले जानकारी दिएको छ ।
सम्झौता अनुसार नेपाली सेनालाई १५ लाख रुपैयाँ भुक्तानी दिइएको र ४३ लाख रुपैयाँ दिन बाँकी रहेको छ । डीपीआरको जिम्मा लिएको स्मेक, एम डब्ल्यू एच र स्वदेशी कम्पनी उदय कन्सल्ट्यान्टले लिएका छन् ।
आयोजनाको डीपीआर बनाउने जिम्मा लिएको कन्सल्ट्यान्टले नै सेनालाई सम्झौता अनुसार पैसा भुक्तानी नदिएको नलगाड जलविद्युत् आयोजनाले जनाएको छ । योभन्दा पहिला सेनालाई १५ लाख रुपैयाँ उदय कन्सल्ट्यान्टका बसन्त डीसीले उपलब्ध गराएका थिए ।
डीपीआरको काम गर्दा विस्फोटको जिम्मा नेपाली सेनाको रहेको थियो । सेनासँग दुई वर्षका लागि सम्झौता भएकोमा यस सम्झौतासमेत भाका नाघिसकेको छ ।

प्रतिक्रिया