झुलाघाट नाका आवतजावत खुकुलो

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो ।
आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । नेपालको तर्फबाट मजदुर पनि जान दिइएको भएपनि भारतले मजदुरीका लागि जाने नेपाली कामदारलाई जान नदिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
उत्तराखण्ड प्रदेशमा अझै कोरोनाको जोखिम कायम रहेकाले भारत सरकारले उक्त प्रदेशका नाकामा कडाइ गरेको जनाइएको छ । मजदुरीका लागि भारत जानेलाई हाललाई सुदूरपश्चिमको गड्डाचौकी र त्रिनगर नाकाबाट जान दिइएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै गत चैतदेखि नेपालले अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।

प्रतिक्रिया