संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सिंहदरबारको दक्षिण ढोकामा प्रदर्शनमा उत्रिएका १६ अधिकारकर्मी पक्राउ परेका छन् ।
मानव अधिकार तथा शान्ति समाजको आह्वानमा भएको आन्दोलनबाट अधिकारकर्मी पक्राउ परेका समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।
प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मीहरू अमृतजंग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
‘असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले आन्दोलन प्रारम्भ गरेको छ,’ पौडेलद्वारा प्रेषित प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनिधिसभा विघटन हुनु निन्दनीय छ भने प्रतिनिधिसभा विघटन असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको मानव अधिकार तथा शान्ति समाजको ठहर छ ।’
शान्ति समाजको आन्दोलनका क्रममा आइतवार शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र रुपन्देही शाखाको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको थियो भने देशभर विरोध प्रदर्शनको क्रम निरन्तर रहेको जनाइएको छ ।

प्रतिक्रिया