कर्मचारी अभावमा सेवा बन्द

बैतडी । पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् ।
इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल, एक सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एक नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र र सिफारिसलगायत कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ । कर्मचारी नहुँदा इलाका प्रशासनमा उपलब्ध हुने सेवा लिनकै लागि सदरमुकाम पुग्नुपर्दा सेवाग्राहीलाई समस्या भएको अनिरुद्र जोशीले बताए ।








प्रतिक्रिया