बिहीबार, वैशाख १३, २०८१

चिनियाँ नाकामा व्यवसायीले धेरै दुःख पाएको चेम्बरको गुनासो

नेपालखोज २०७७ पुष ११ गते ११:२८

काठमाडौं । चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्सले गम्भीर चिन्ता व्यक्त गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाइ ज्ञापन गर्न आयोजित कार्यक्रमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको गुनासो गरे ।

“पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको छ, यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ ?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे ।

करोडौं मूल्यबराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायी पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । “कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो । कि नाका बन्द गरोस् कि व्यापार सहज बनाओस्,” अध्यक्ष श्रेष्ठको आग्रह छ ।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह पनि गरे । कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको चेम्बरले जनाएको छ ।

प्रतिक्रिया