परिणाममुखी काम गर्ने पर्यटन मन्त्री ढकालको दृढता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् ।
शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाएका छन् । उनले भने, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु, त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।”
अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालायित हुनु नपर्ने उनको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उनले जोड दिए ।
उनले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री बदलिए पनि सरकार र कार्यनीति बदलिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपाटिको विकास गर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।
उनले मुलुक चुनावी वातावरणमा गएकाले राजनीतिक रङले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजग रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिएका छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मन्त्री ढकाल पर्यटनमन्त्री बनेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।
मन्त्री ढकालको यो तेस्रो मन्त्रालयको जिम्मेवारी हो । यसअघि करीब १४ महीना कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र पछिल्लोपटक १३ महिना स्वास्थ्यमन्त्री बनेका थिए । कोभिड–१९ महामारीको सामना गर्ने अप्ठ्यारो अवस्थामा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउँदा शक्तिशाली विकसित ठूला राष्ट्रले दिन नसकेको स्वास्थ्य सेवा जनतालाई दिलाउन सफल भएको र पछिल्लो पटक देशका सबै गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार गर्नेजस्ता स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउनेगरी काम भएको उनले उल्लेख गरेका छन् ।
मन्त्री ढकालले स्थायी सरकार बनेपछि राजनीतिक दुर्घटना र पार्टीभित्रको दुर्घटनापछि पर्यटनमन्त्रीको जिम्मेवारीमा आएको पनि उल्लेख गरेका छन् । यसअघि पदभार ग्रहण गर्दै मन्त्री ढकालले पहिलो निणर्यका रुपमा सङ्घीय मन्त्रालयका बेरुजु जो जसका नाममा छ तत् निकायलाई नै बेरुजुको लगत हस्तान्तरण गर्ने निणर्य मन्त्रिपरिषद्मा लैजाने हस्ताक्षर गरेका छन् ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले देशलाई समृद्धिको दिशामा लैजाने प्रमुख आधार पर्यटन र ऊर्जा क्षेत्र रहेको भन्दै महामारीबाट बढी प्रभावित भएको पर्यटनलाई गतिशील तुल्याई बढीभन्दा बढी अर्थोपार्जन हुनेगरी योजनाबद्ध कार्यक्रम अघि बढाउन मन्त्रालय रणनीतिकरुपमा लागिपर्ने बताएका छन् ।

प्रतिक्रिया